शनिबार, मंसिर २४, २०७९

ललिता निवास प्रकरण- कांग्रेस नेता गच्छदार र अख्तियारका पूर्व आयुक्त वस्याल विरुद्ध पक्राउ पूर्जी जारी

फ्ल्यासन्युज नेपाल२०७८ पुष २१ गते १५:१७

काठमाडौं । बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री एवम् कांग्रेस नेता विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीपकुमार बस्न्यात लगायतलाई पक्राउ पुर्जी जारी गरेको छ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरी मुद्दा चलाउने अन्तिम तयारी गरेको छ। अनुसन्धानका लागि सीआईबीले जिल्ला अदालतसँग पक्राउ पुर्जीका लागि आग्रह गरेको थियो। ललिता निवास जग्गा हिनामिनामा उच्च पदस्थ राजनीतिज्ञ, कर्मचारी, व्यापारी र भूमाफिया संलग्न रहेको सरकारी अध्ययन समितिले निष्कर्ष निकालेको थियो।

सीआईबीले ललिता निवासको १ सय ४३ रोपनी जग्गा हिनामिना भएको निष्कर्षसहित अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याएको छ। जसमध्ये १ सय ३६ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको छ। पक्राउ पुर्जी जारी भएपछि उक्त प्रकरणमा संलग्न रहेका तत्कालीन भौतिक योजना मन्त्रालयका सचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त बस्न्यात ‘सम्पर्क बाहिर’ रहेको स्रोतले बतायो।

शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले २ सय ९९ रोपनी जग्गा जफत भएको हो कि होइन भनेर अध्ययन गरेको थियो। जसमा सरकारले १४ रोपनी ११ आना मात्रै जफत गरेको समितिको निष्कर्ष थियो।

किर्ते गरी चारपटक व्यक्तिका नाममा दर्ता गरेको पाइएको अनुसन्धानले देखाएको छ। २०४९, २०६२, २०६७ र २०६९ मा भएका किर्तेविरुद्ध छुट्टाछुट्टै चार मुद्दा अघि बढाउने तयारी रहेको छ। यो प्रकरणको हदम्याद पुस २७ मा सकिँदै छ। प्रहरीले एक हप्ताभित्र अनुसन्धान प्रतिवेदन तयार गर्नुपर्ने हुन्छ।

 

तपाइँको प्रतिक्रिया