मंगलबार, मंसिर २०, २०७९

राष्ट्रियसभा निर्वाचन- कसले कहाँ उम्मेदवारी दिए ?

फ्ल्यासन्युज नेपाल२०७८ पुष २० गते १५:१३

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका विभिन्न दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउने आज दिउँसो ३ बजेसम्मको समयसीमासम्म पाँच दलीय गठबन्धन र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । प्रदेश १ मा पाँच दलीय गठबन्धनमा कांग्रेसबाट झापाका गोपाल बस्नेत, महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अपांगता भएका–अल्पसंख्यकतर्फको कोटाबाट जनता समाजवादी पार्टीका हेमराज थुलुङ राईले मनोनयन दर्ता गर्नुभएको हो ।

यस्तै एमालेबाट खुलातर्फ गुरु बराल, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसंख्यक वा अपाङ्ग कोटामा सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दिनुभएको छ ।

सत्तारुढ गठबन्धनबाट जनता समाजवादी पार्टीले अन्य समूहमा सिरहाका मो। खालिद सिद्दिकीलाई र माओवादीले महिला समूहमा पर्साकी उर्मिला अर्याललाई उम्मेदवार बनाएको छ । यस्तै, नेकपा एमालेले अन्य समूहतर्फ धनुषाका असर्फी भिनबार यादव र महिला समूहतर्फ रौतहटकी बिना साहलाई उम्मेदवार बनाएको छ ।

प्रदेश सभामा सत्तारुढ जनता समाजवादी पार्टी ९जसपा० का ३९ सांसद छन् । नेपाली कांग्रेसको १९ सांसद हुँदा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का १६ सांसद छन् । नेकपा एकीकृत समाजवादीका १३ सांसद यो प्रदेशमा छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ८–८ जना सांसद हुँदा नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद छन् ।

बागमती प्रदेशमा रिक्त दुई सिटमा हुने निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका कृष्णप्रसाद पौडेल र महिलामा एकीकृत समाजवादीबाट गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराउनुभयो ।

गण्डकी प्रदेशमा नेकपा एमालेका उम्मेदवार स्याङ्जाका अर्जुनकुमार सुनाम, कास्कीका पुण्यप्रसाद पौडेल र महिलामा नवलपुरकी लीला थनेतले मनोनयन दर्ता गराएको एमाले प्रदेश सचिव धनञ्जय दवाडीले जानकारी दिनुभयो । गण्डकीमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी कमला पन्त, माओवादीका सुरेश आलेमगर र भुवन सुनारले उम्मेदवारी दिनुभयो ।

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, एकीकृत समाजवादीबाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट रुपन्देहीका तुलप्रसाद बिश्वकर्माले उम्मेदवारी दर्ता गराउनुभएको हो । लुम्बिनीमा महिला, दलित र अन्य समुदाय गरी तीन रिक्त पदका लागि निर्वाचन हुँदैछ । यस्तै एमालेबाट खुल्लातर्फ दाङका रामदयाल गुप्ता, महिलातर्फ बाँकेकी भारती खनाल र दलिततर्फ गुल्मीका कृष्णबहादुर सुनारले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।

कर्णालीमा गठबन्धनबाट एकीकृत समाजवादीबाट उदय बोहोरा, महिलातर्फ कांग्रेसबाट दुर्गा गुरुङ र अपाङ्गता कोटाबाट माओवादीका नरवहादुर विष्टले उम्मेदवारी दिनुभएको छ । यस्तै, एमालेबाट सुर्खेतका चुणामणि शर्मा, महिलातर्फ जुम्लाका गंगा महत र अल्पसंख्यकमा दैलेखका पदमबहादुर माझीले मनोनयन दर्ता गराउनुभएको छ ।

सुदूरपश्चिममा एमालेबाट डिल्लीराज भट्ट, महिलामा सन्तोष शर्मा र दलित कोटाबाट नरेश विकले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै, सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका नारायण मिश्र, एकीकृत समाजवादीबाट मदनकुमारी शाह गरिमा र माओवादीबाट जगत पार्कीले उम्मेदवारी दिनुभएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा रहेका छन् ।

तपाइँको प्रतिक्रिया