शुक्रबार, असोज १४, २०७९

विवेकशील साझा विरुद्ध मिलन पाण्डे सर्वाेच्च अदालत जाँदै

फ्ल्यासन्युज नेपाल२०७८ पुष २० गते १०:४९

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्ष निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत जाने भएका छन् । अध्यक्ष रवीन्द्र मिश्र पक्षले ’कीर्ते माइन्युट’ आयोगमा पेश गरेको दाबी पाण्डे पक्षको छ।

आयोगको निर्णय पुनरावलोकन गर्न पाण्डे पक्षले माग गरेका थिए। तर आयोगले यसबारे ‘निर्णय गर्न नचाहेको’ भन्ने जवाफ दिएकोले त्यसविरूद्ध अदालत जाने तयारी गरेको नेता हरीशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पार्टीको विधान विपरीत नीति र नेतृत्व परिवर्तन गर्ने निर्णय अध्यक्ष मिश्र पक्षले एकल बैठकले गरेको र बैठकमा अनुपस्थितको पनि सहमति छ भनेर कीर्ते मानइन्युट बनाएको दाबी पाण्डे पक्षको छ ।

निर्वाचन आयोगको निर्णयलाई आफूहरूले अदालतमा चुनौती दिने पनि पाण्डे पक्षको भनाइ छ। पछिल्लो समय विवेकशील साझामा अध्यक्ष मिश्र र संयोजक पाण्डेबीच पार्टीले लिने नीतिलगायतमा विवाद देखिएको छ। मिश्र पक्षले स्पष्टीकरण सोध्दै संयोजक पाण्डेलाई सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।

तपाइँको प्रतिक्रिया