यो वर्ष नेपालमा ८.७४ प्रतिशतल धान उत्पादन घट्यो
काठमाडौं । नेपालमा यस वर्ष ८ दशमलव ७४ प्रतिशतले घटेको छ । गत असोज अन्तिममा देशभर परेको हावाहुरीसहितको अप्रत्याशित वर्षाका कारण धान उत्पादनमा कमी आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले देशभरबाट संकलन गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा धानको उत्पादन विगत ५ वर्षयताकै कम भएको छ ।
मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर जमीनमा ५६ लाख २१ हजार ७ सय १० मेट्रिकटन धान उत्पादन भएकोमा चालू आर्थिक वर्षमा १४ लाख ७७ हजार ३ सय ७८ हेक्टर जमीनमा ५१ लाख ३० हजार ६ सय २५ मेट्रिकटन मात्र धान उत्पादन भएको छ ।
गत आर्थिक वर्षको तुलनामा धानबाली लगाइएको क्षेत्रफल करीब ४ हजार हेक्टरले वृद्धि भएको भए पनि बेमौसमी वर्षाका कारण उत्पादकत्वमा समेत ९ दशमलव शून्य ९ प्रतिशतले गिरावट आएको छ । प्रदेशगत रूपमा गत आवको तुलनामा गण्डकी प्रदेशबाहेक अन्य प्रदेशहरूमा धान उत्पादन ऋणात्मक रहेको जनाइएको छ ।