मंगलबार, असोज ११, २०७९

राष्ट्रिय सभा सदस्य निर्वाचनमा दुई हजार २५ जना मतदाताले भाग लिदै

फ्ल्यासन्युज नेपाल२०७८ पुष १८ गते १०:५७

काठमाडौं । माघ १२ गते हुने राष्टिय सभा निर्वाचनमा देशभरबाट दुई हजार २५ जना मतदाताले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिनेछन् । निर्वाचन आयोगका अनुसार मतदाताको नामावली आयोगको वेबसाइटबाट प्रकाशन भइसकेको छ । हिजो मतदाता नामावली प्रकाशन गर्दै दाबी विरोधका लागि आह्वान गरिएको थियो।

मतदाताको अन्तिम नामावली भने भोली प्रकाशित हुने आयोगले जनाएको छ । आयोगका अनुसार मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम छ । आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरिसकेको छ । निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । आयोगले दिएको जानकारी अनुसार प्रदेश १ मा २६४, प्रदेश २ मा ३७२, बागमतीमा ३४६, गण्डकीमा २२९, लुम्बिनीमा २९६, कर्णालीमा १९१ र सुदूरपश्चिम २२७ जना मतदाता रहेका छन ।

सत्तारूढ गठबन्धनले रिक्त १९ राष्ट्रिय सभा सदस्यमा भागबन्डा गरेर उम्मेदवार तय गर्ने तयारी गरेका छन्। यसका लागि गठबन्धनले पार्टीहरूका शीर्ष नेताहरू रहेको समन्वय समिति पनि गठन गरेको थियो। दलहरूले राष्ट्रिय सभा सदस्य उम्मेदवारहरूको नाम सिफारिस गर्न थालेका छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रदेशहरूबाट उम्मेदवारका आकांक्षीको नाम केन्द्रमा पठाएको छ।

तपाइँको प्रतिक्रिया