शुक्रबार, असोज १४, २०७९

प्रचण्डको राजनीति प्रतिवेदनमाथिको समूहगत छलफल सकियो

फ्ल्यासन्युज नेपाल२०७८ पुष १५ गते १९:१४

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत अध्यक्ष पुष्पकमल दाहालले बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदन माथिको छलफल सकिएको छ । अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि २५ समुहमा छलफल भएको थियो ।

आज १४ समूहका टोली नेताले आफ्नो समुहबाट आएका सुझाव राखेका थिए । यसअघि हिजो ११ समूहका टोली नेताले सुझाव राखेका थिए । समूहगत रिपोर्टिङ सकिएलगत्तै स्थायी कमिटी बैठक पनि सुरु भएको छ । बैठकमा आएका सुझावहरूलाई कसरी समेट्ने भन्नेबारे सो बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । आज रिपोर्टिङ गर्ने अधिकांश टोली नेताहरुले एमसीसी खारेज गर्नुपर्ने र दस्तावेजको व्यवहारिक कार्यान्वयन हुनेमा आशंका गरेका छन् । भोली अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन पेश गर्ने र त्यसपछि पुष्प कमल दाहाल प्रचण्डले जवाफ दिनुहुने जनाइएको छ ।

यसैबिच नेकपा माओवादी केन्द्रको महाधिवेशनमा अध्यक्ष दाहालको प्रतिवेदनले समेट्नैपर्ने केही विषय नसमेटेको भन्दै युवा नेता लेखनाथ न्यौपानेले फरक मत राख्नुभएको छ । उहाँले पार्टीमा उच्छृङ्खलता मौलाउँदै गएको, नेताहरू सम्पत्ति केन्द्रित हुँदै गएको, भारतको थिचोमिचोविरुद्ध प्रचण्डको प्रतिवेदन मौन रहेको, पार्टीका गतिविधि दक्षिणपन्थ उन्मुख रहेको लगायतका मत राख्नुभएको छ ।

भोलीबाट निर्वाचन कार्यक्रम सुरु हुने माओवादीका निर्वाचन आयोगका प्रमुख विष्णस पुकार श्रेष्ठले जानकारी दिनुभयो । माओवादीमा नेतृत्व चयनमा सर्वसम्मतिको पहल भइरहेको भएपनि आकांक्षी धेरै भएपछि व्यवस्थापन गर्न कठिन देखिएको छ । माओवादीको अन्तरिम विधानले प्रतिनिधिहरूले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने व्यवस्था गरेको छ । माओवादीको ८ औँ महाधिवेशनमा करिब १ हजार ७ सय प्रतिनिधि सहभागी छन् । माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको छ ।

तपाइँको प्रतिक्रिया