शुक्रबार, असोज १४, २०७९

यस्ता छन् भविष्यमा हुनसक्ने दुई लडाईका डरलाग्दा संकेत !

फ्ल्यासन्युज नेपाल२०७८ पुष १५ गते १३:५५

सन् २०२१ मा ब्रिटिश सुरक्षा र प्रतिरक्षा नीतिमा आधारभूत परिवर्तनहरू देखिएका छन्। डिजिटल प्रविधि, आर्टिफिसिअल इन्टिलिजन्स र साइबर क्षेत्रको बजेट बढ्यो र परम्परागत हतियार र सैन्य सङ्ख्याको बजेट घट्यो।

यो परिवर्तन यस्तो समयमा भएको जुन बेला रुसले युक्रेनको सीमामा सेना थुपारिरहेको छ, मस्कोले नेटोलाई आफ्ना सदस्य राष्ट्रबाट फिर्ता जान माग गरिरहेको छ र चीनले आवश्यक परे शक्ति प्रयोग गरेर भए पनि ताइवानलाई गाभ्ने दाबी गरिरहेको छ।

विश्वभर साना क्षेत्रीय तनावहरू भइरहेकै छन्। इथियोपियामा गृहयुद्ध छ, युक्रेनको द्वन्द्वमा सन् २०१४ यता १४,००० मारिएका छन्।

सिरियाको द्वन्द्व कायमै छ र इस्लामिक स्टेट अफ्रिकामा पकड जमाउन खोजिरहेका छन्।

तर भविष्यमा ठूला शक्तिराष्ट्र बीच हुन सक्ने युद्ध कस्तो हुनेछ? र के पश्चिमा राष्ट्रहरू ती चुनौतीका लागि सक्षम छन्?

 

पहिलो कुरा भविष्यको युद्धको तरिका अहिले नै देखिइसकेको छ। पश्चिमा राष्ट्र र चीन वा रुसजस्ता राष्ट्रबीच ठूलो द्वन्द्व भएमा देखिनसक्ने धेरै कुराहरू अहिले नै विकास, परीक्षण र स्थापित भइसकेका छन्।

नोभेम्बर १६ मा रुसले अन्तरिक्षमा क्षेप्यास्त्र परीक्षण गर्दै आफ्नै एक भूउपग्रह नष्ट गर्‍यो। चीनले उच्चतम प्रविधियुक्त र आवाजभन्दा कैयौँ गुणा तीव्र गतिको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गर्‍यो।

आक्रामक साइबर हमलाहरू नियमित भएका छन्।

बिल क्लिन्टन र बाराक ओबामाको पालामा अमेरिकी रक्षा मन्त्रालयमा नीति प्रमुख रहेका मिशेल फ्लोरनोइको भनाइलाई मान्ने हो भने पश्चिमा राष्ट्रहरूले गत दुई दशकमा मध्यपूर्वमा ध्यान केन्द्रित गर्दा अन्य तिनका प्रतिस्पर्धी राष्ट्रले सैन्य सामर्थ्य बढाउने मौका पाए।

चीन

“अमेरिका, यूके र हाम्रा सहयोगी देशहरू २० वर्षको प्रतिआतङ्कवाद र प्रतिविद्रोह, इराक र अफगानिस्तान युद्ध मा केन्द्रित रहेर बाहिर आएको बिन्दुमा छन् र यतिबेला हामीले दृष्टि उठाउँदा गम्भीर सामर्थ्य प्रतिस्पर्धा देखेका छौँ,” उनी भन्छिन्।

उनले इङ्गित गरेको प्रतिस्पर्धा चीन र रुससँग हो जसलाई यूके सरकारको प्रतिवेदनमा पश्चिमा देशका लागि दीर्घकालीन “तीव्र खतरा” र “रणनीतिक प्रतिद्वन्द्वी” भनिएको छ।

“हामी मध्यपूर्वमा केन्द्रित हुँदा यी देशहरू युद्धको पश्चिमा विधाको विद्यालयमा गए। र उनीहरूले नयाँ प्रविधिमा ठूलो लगानी गर्न सुरु गरे,” फ्लोरनोइ भन्छिन्।

तीमध्ये धेरै साइबर गतिविधिमा लगानी गरिएका छन् जसलाई पश्चिमा समाजको मूल संरचनामा प्रहार गर्न प्रयोग गरिएको छ। निर्वाचनमा प्रभाव पार्न र तथ्याङ्क चोर्न ती उपयोग गरिए पनि यी कुराहरू युद्धभन्दा धेरै तल थिए र सजिलै अस्वीकार गर्न सकिने खालका थिए।

तर यदि युक्रेनलाई लिएर पश्चिमा र रुसबीचको अहिलेको तनाव वा ताइवानलाई लिएर पश्चिमा र चीनको तनावले द्वन्द्वको आकार लियो भने के हुन्छ?

अमेरिकी सेना

तस्बिर स्रोत,J.M. EDDINS JR/US AIR FORCE

इन्टर्न्याश्नल इन्स्टिट्युट फर स्ट्राटेजिक स्टडीजकी मिया नोवेन्स त्यस्तो अवस्थामा सूचनाको क्षेत्रमा धेरै खेल हुने बताउँछिन्।

“चीनको सेनाले नयाँ विभाग बनाएको छ जसले अन्तरिक्ष, विद्युतीय युद्धकला र साइबर क्षमता हेर्छ।”

यसको अर्थ के हो? द्वन्द्वको अवस्थामा दुवैतर्फबाट ठूला साइबर आक्रमण हुनेछन्।

अर्को पक्षलाई भूउपग्रह वा समुद्रको तार काटेर सञ्चार विच्छेदको अवस्था बनाएर असक्षम बनाउने प्रयास हुनेछ।

के त्यस्तो बेला सर्वसाधारणका लागि मोबाइलले काम नगर्ने वा पेट्रोल अभाव हुनेछ वा किनमेल गर्न नसकिने अवस्था होला त?

इन्टर्न्याश्नल इन्स्टिट्युट फर स्ट्राटेजिक स्टडीजका फ्रान्ज-स्टेफन गाडी भन्छन्: “धेरै सम्भावना छ। किनभने ठूला शक्तिराष्ट्रहरूले धेरै खर्च गरिरहेको क्षेत्र विद्युतीय युद्धकलामा हो जसले भूउपग्रहलाई काम नगर्ने बनाई सञ्चार विच्छेद गर्न सकिन्छ। त्यसैले सेनालाई मात्रै होइन, भविष्यको द्वन्द्वको प्रमुख लक्ष्य समाज पनि हुनेछ।”

रकेट प्रक्षेपण

तस्बिर स्रोत,GETTY IMAGES

सबैभन्दा ठूलो खतरा भनेको चाहिँ बिनापूर्वसूचनाको द्वन्द्व हो। केही गरी कुनै देशको भूउपग्रहले अचानक काम गर्न छोड्यो र सेनाको कतै भूमिगत नियन्त्रण कक्षलाई के हुँदै छ भन्ने थाहा भएन भने त्यो देशको प्रतिउत्तर के भनेर निर्णय गर्न असाध्यै कठिन हुनेछ।

त्यो अवस्थामा ती देशको प्रतिउत्तरले द्वन्द्वलाई झन् चर्काउन सक्ने जोखिम रहने नोवेन्स बताउँछिन्।

भविष्यको युद्धमा अर्को प्रमुख कुरा भनेर आर्टिफिसिअल इन्टिलिजन्स एआई हुनसक्छ। यसले निर्णय क्षमता र निर्णय समयलाई तीव्र बनाउन सक्छ।

चीनको जस्तो विशाल सेना नभएको अमेरिकालाई एआईमा फाइदा हुने फ्लोरनोइ बताउँछिन्।

उनी मानिस र मेसिनलाई संयुक्त रूपमा प्रयोग गरेर रक्षात्मक वा आक्रामक योजनाहरू बनाउँदा विशाल विपक्षीलाई असहज बनाउन सकिन्छ।

“यदि हामीसँग १०० मानवरहित कुरालाई नियन्त्रण गर्ने एउटा मानवसहितको कुरा छ भने सैनिक सङ्ख्याको कमीलाई पूरा गर्न सकिन्छ।”

तर पश्चिमा देशहरू चीन र रुसभन्दा खतरनाक तरिकाले पछाडि परिरहेको क्षेत्र भनेको हाइपरसोनिक क्षेप्यास्त्र हो। आवाजभन्दा पाँचदेखि २७ गुणा तीव्र गतिका यी क्षेप्यास्त्रले पारमाणविक युद्धशीर्ष पनि बोक्न सक्छन्।

रुसले विश्वका सबै रक्षा व्यवस्थालाई तोड्न सक्ने जिर्कन हाइपरसोनिक क्रुज क्षेप्यास्त्रको परीक्षण सफल भएको बताएको छ।

चीनको क्षेप्यास्त्र

तस्बिर स्रोत,GETTY IMAGES

चीनले सन् २०१७ मा सार्वजनिक गरेको डङ फेङ १७ मा हाइपरसोनिक ग्लाइड भेहिकल हुन्छ जसले यसको मार्गलाई उडानकै क्रममा पनि नियन्त्रण गर्न सकिन्छ। त्यसो गर्दा यसलाई पत्ता लगाउन धेरै गाह्रो हुन्छ।

तुलनात्मक रूपमा हालका अमेरिकी प्रविधिका परीक्षण भने राम्रो भएका छैनन्। चिनियाँ हतियारका कारण यदी उसले ताइवानलाई आक्रमण गरेमा सो देशको रक्षाका लागि उत्रिने निर्णय गर्दा अमेरिकाले दोहर्‍याएर सोच्नुपर्ने अवस्था छ।

तर सन् २०२२ सुरु हुनै लाग्दा युक्रेनको सीमामा रुसले थुपारेको सेना र सैन्य पूर्वाधारहरू परम्परागत नै छन्।

यूकेले परम्परागत सैन्य पूर्वाधार र हतियारमा खर्च कटौती गरेर नयाँ प्रविधिमा खर्च गर्ने निर्णय गरेको छ। जसले २० वर्षपछि बलियो अवस्थामा पुर्‍याउने तर त्यो समयसम्मका लागि जोखिमपूर्ण भ्वाङ छोड्ने फ्रान्ज-स्टेफन गाडीको विचार छ।

अमेरिकी परीक्षण

तस्बिर स्रोत,GIANCARLO CASEM/US AIR FORCE

“अबको पाँचदेखि १० वर्षमा यसले खतरनाक अवधि सिर्जना गर्नेछ र त्यो बेलासम्म प्रविधिको विकास पनि व्यवहारिक रूपमा युद्धको अवस्थामा फाइदा दिने गरी भएको हुँदैन।”

त्यसो भए अबको केही समय पश्चिमा देशहरूको लागि खतरा हो त? फ्लोरनोइ सही लगानी र मित्रराष्ट्रहरूसँग सहकार्य गरे त्यसो नहुने बताउँछिन्।

“यदि हामीले हाम्रो सोचलाई एक स्थानमा ल्यायौँ र सही प्रविधि र अवधारणाहरूमा लगानी गर्‍यौँ एवम् तीव्र गतिमा विकास गर्‍यौँ भने हामी ठूलो युद्धलाई टार्न सक्छौँ,” उनी भन्छिन्।

तपाइँको प्रतिक्रिया