शुक्रबार, असोज २१, २०७९

उपत्यकाका चन्द्रागिरीसहित उच्च पहाडी तथा हिमाली भेगमा हिमपात, जनजीवन कष्टकर

फ्ल्यासन्युज नेपाल२०७८ पुष १४ गते १६:२३

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण हाल देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । काठमाडौ उपत्यकासहित देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा वर्षा भइरहेको र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएको हो । वर्षा र हिमपातसँगै चिसो झनै बढेको छ । यसैबीच, काठमाडौँ उपत्यकाका चन्द्रागिरीसहितका डाँडामा वर्षासँगै हिमपात शुरु भएको छ । हिमपात भएसँगै काठमाडौँको चन्द्रागिरीमा हिउँ खेल्न जानेको घुइँचो लागेको छ ।

दोलखा बाक्लो हिमपात

दोलखाको कालिन्चोकसहित उच्च हिमाली क्षेत्र खरिढुङ्गा, शैलुङ लगायतका उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । दोलखाको धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र कालीञ्चोकमा हिउँ खेल्न आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।

बाजुरा हिमपात

बाजुराका उच्च हिमाली भेगमा हिमापात भएको छ भने बेसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । मंगलबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको हिमपातले जनजीवन कष्टकर बनाएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने खुशी भएका छन् । सिचाई नहुँदा गहुँ बाली नलगाएका किसानलाई राहत भएको छ । हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइका विभिन्न बालीलाई फाइदा पुगेको किसानले बताएका छन् । यो वर्षाले विभिन्न अन्नवाली, फलफूल र तरकारीलगायत किसानलाई फाइदा पुगेको जिल्ला कृर्षि ज्ञान केन्द्र बाजुरले बताएको छ ।

लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्मे भएको छ । लगातारको भारी हिमपातले सदरमुकाम सिमकोटदेखि उत्तरका वासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ । सिमकोटमा बिहानै देखि परेको हिउँ २ फिट जमेको छ । सिमकोटको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्याधिक बढेको छ । हिमपातले नाम्खा गाउँपालिकाको लिमि, मुचु, लगायतका क्षेत्रमा ४ फिट हिउँ जमेको छ । यो वर्षकै ठूलो हिमपात भएकाले मुचका खोलामा पानी छ । अत्याधिक चिसो र हिमपात भएका कारण बिहानै देखि चहलपहल हुने गाउँहरु समेत सुनसान जस्तै देखिएका छन् ।

उडान प्रभावित

वर्षा तथा हिमपातका कारण हवाइ उडान प्रभावित भएको छ । पहाडी तथा हिमाली क्षेत्रका विमानस्थलमा हिउँ पर्दा हवाइ उडान प्रभावित भएका हुन् । यति एयरलाइन्सले बुधबारको लागि लुक्लाका सबै उडान रद्द गरेको छ । मौसम खराबीकै कारण डोल्पा र सिमीकोट उडान रद्द भएको यति एयरलाइन्सले जनाएको छ । बर्तौलाका अनुसार तराईको विमानस्थलमा उडान सुरु भएको छ भने पहाडी भेगमा भिजिबिलिटी कम र हिउँ पर्दा उडान हुनसकेका छैनन् । बुधबार पोखरामा ६ उडान तालिका रहेकोमा ३ उडान रद्द भइसकेका छन ्। बुद्ध एयरले पनि आफ्ना उडान प्रभावित भएको उल्लेख गरेको छ । उडानको जानकारीको लागि बुद्ध एयरको मोबाइल एपमार्फत हेर्न सकिने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला देशका धेरैजसो स्थानमा वर्षात् भइरहेको छ भने हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ ।

तपाइँको प्रतिक्रिया