शनिबार, असोज १५, २०७९

अमेरिकाको पहिलो नेपाली डेलिगेट भण्डारीलाई विद्यावारिधि

फ्ल्यासन्युज नेपाल२०७८ पुष ७ गते ११:४४

डिसेम्बर २१, बाल्टिमोर ।नेपाली मूलका पहिलो अमेरिकी डेलिगेट ह्यारी भण्डारीले विद्यावारिधि गरेका छन् । उनले युनिभर्सिटी अफ मेरिल्याण्ड, बाल्टीमोर काउण्टी (युएमवीसी) बाट ‘नेपाली-अमेरिकीहरूको राजनैतिक सहभागिता तथा भाषिक एकीकरण’ शीर्षकमा शोध गर्दै विद्यावारिधि गरेका हुन् ।

विश्वविद्यालयमा मंगलबार दिउँसो आयोजित एक दीक्षान्त समारोहमा उनलाई विद्यावारिधिको प्रमाणपत्र प्रदान गरियो। समारोहमा नेपाली पहिरनमा सहभागी भएर उनले आफ्नो जन्मभूमिप्रति श्रद्धा र सम्मान प्रकट गरेका थिए ।

दीक्षान्त समारोहमा विश्वविद्यालयका प्रेसिडेन्ट फ्रिम्यान ए. ह्रयास्बोस्कीले  डेलिगेट भण्डारीलाई डाक्टर भण्डारीका रूपमा परिचय गराउँदै उनले मेरिल्याण्ड राज्य संसदका एक प्रभावकारी डेलिगेटका रूपमा निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरेका थिए। संसदमा भएका थोरै विद्यावारिधि गर्नेमध्ये डा. भण्डारी एक भएको बताउँदै उनले आफ्नो समुदायसँग सम्बन्धित विषयमा अनुसन्धान गरी अमेरिकी प्राज्ञिक क्षेत्र र आफ्नो समुदायप्रति ठूलो गुण लगाएको पनि बताए। प्रेसिडेन्ट ह्रयास्बोस्की अमेरिकाको प्राज्ञिक क्षेत्रकै एक सम्मानित व्यक्तित्व हुन् ।

दीक्षान्त समारोहपछि संक्षिप्त प्रतिक्रिया दिदैं उनले भने, ‘यो मेरो लागि एक सपना थियो । आज विपनामा परिणत हुँदा स्वभावत: खुशी छु । म यसको श्रेय मेरो जन्मभूमि नेपाल र मेरो कर्मभूमी अमेरिका अनि यहाँ रहेका सबै नेपालीमा सरोबरी बाँड्न चाहन्छु ।‘

आफ्नो विद्यावारिधि अरूभन्दा भिन्न र अमेरिकामा रहेका नेपालीका लागि विशेष भएको बताउँदै उनले अगाडि भने, ‘मैले अमेरिकामा रहेका नेपालीको राजनीतिक सहभागिता र भाषिक एकीकरणमाथि मिहीन अध्ययन गरेर त्यसको निस्कर्ष प्रस्तुत गरेको छु । मेरो विद्यावारिधि त्यही निष्कर्षको प्रमाणितरूप हो । यो निस्कर्षले अमेरिकी संस्थापनलाई अमेरिकामा रहेका नेपालीलाई हेर्ने झ्याल मात्र हैन, ढोका पनि खोलिदिएको छ।‘

अमेरिकामा रहेका नेपालीलगायतका एसियाली अल्पसंख्यकलाई एउटै बास्केटमा राखेर सोलोडोलो किसिमले हेर्ने दृष्टिकोणमाथि आफ्नो अनुसन्धानले चुनौति खडा गरेको बताउँदै उनले अगाडि भने, ‘ अमेरिकी संस्थापनले एसियाली अल्पसंख्यकलाई धनी, बाठा, शिक्षितका रूपमा हेर्ने गरेको छ। तर, मेरो अध्ययनले त्योभन्दा फरक तस्बिर देखाएको छ।‘

आफ्नो विद्यावारिधिले अमेरिकामा रहेका सबै नेपालीको साझा प्रश्नको उत्तर खोजेको बताउँदै भण्डारीले भने, ‘अनुसन्धानमा आधारित यो प्राज्ञिक उपलव्धीको स्वामित्व लिइदिन सबैमा विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। ‘

अमेरिकाको मेरिल्याण्ड राज्यका डेलिगेट भण्डारी अमेरिकी मूलधारको राजनीतिमा यो मानक उपलव्धी हासिल गर्ने पहिलो नेपाली हुन्। अमेरिकामा रहेको एसियाली अल्पसंख्यक त्यसमा पनि सीमान्तकृत बनाइएको नेपाली मूलको प्रतिनिधित्व गर्ने उनलाई यो प्राज्ञिक उपलव्धीले एक अनुसन्धानकर्ता-राजनीतिकर्मीका रूपमा उभ्याउने छ। यसले सिर्जना गर्ने विश्वसनियता र आधिकारिकताको अमेरिकी सार्वजनिक जीवनमा ठूलो अर्थ राख्छ ।

नेपाली मूलको पहिलो अमेरिकी डेलिगेट भण्डारी डेमोक्रेटिक पार्टीको प्रतिनिधित्व गर्छन्। उनी डेमोक्रेटिक पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्य पनि हुन्। अमेरिकामा एसियन अमेरिकन तथा प्यासिफिक आइजल्याण्डरहरूको छाता संस्था एएपीआईको तर्फबाट मेरिल्याण्ड राज्यको दुबै संसदमा उपाध्यक्ष रहेका भण्डारी  पहिलो चारवर्षे कार्यकालको अन्तिम वर्षमा छन्। उनले अर्को वर्षको नोभेम्बरमा हुने निर्वाचनमा दोस्रो कार्यकालका लागि उम्मेद्वारी घोषणा गरिसकेका छन्। चुनावी क्याम्पेनमा रहेका भण्डारीलाई यो उपलव्धीले थप ब्राण्डिङ गर्न सहयोग पुग्नेछ।

नेपालको पर्वतमा जन्मेका भण्डारीले आफ्नो सुरूवाती शिक्षा आफ्नै हजुरबुबाले गाउँमा स्थापना गरेको सरकारी विद्यालयबाट सुरू गरेका थिए। गाउँमै माध्यामिक शिक्षा पूरा गरेर उच्च शिक्षाका लागि पोखरा आएका उनले काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर पूरा गरे। अमेरिका आएपछि उनले विश्वप्रसिद्ध जोन हप्किन्स विश्वविद्यालयमा समेत अध्ययन गरेका थिए।

सन् २००५ अक्टोबरमा अमेरिका आएका भण्डारी अमेरिका आप्रवासमा आएको पहिलो पुस्ताले गर्ने प्रारमिभ्क संघर्षका विभिन्न चरण पार गर्दै अगाडि बढे। उनी अमेरिका आएर नेपाली अमेरिकी भएपछि यहीको मूलधारको राजनीति गर्नुपर्छ भन्ने मान्यताको वीउ रोप्ने अगुवामध्येमा पर्छन्। उनले त्यही बीउ उमारेर सबैले देख्ने गरी सम्भावनाको विरूवा हुर्काइरहेका छन्।

तपाइँको प्रतिक्रिया