बिहीबार, मंसिर १४, २०८०

एमसीसीबारे स्पष्ट भएरमात्रै संसदमा अघि बढाउनुपर्ने दलहरुकाे सुझाव

फ्ल्यासन्युज नेपाल२०७८ पुष ४ गते १९:२८

काठमाडौं । अमेरिकी साहायता परियोजना एमसीसी सम्झौतालाई संसदमा लैजानुअघि व्यापक छलफल हुने भएको छ । संसद अवरोध र एमसीसीबारे छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठकमा एमसीसीका बुँदा–बुँदामा छलफल गर्ने सहमति बनेको हो ।

सत्तागठबन्धनको बैठक लगत्तै सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलका नेताहरुले अमेरिकी सहयोगसम्बन्धी सम्झौता (एमसीसी) बारे उत्पन्न शंसय स्पष्ट नभई संसदबाट अनुमोदन गर्न नसकिने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको सर्वदलीय बैठक राजनीतिक दलका नेताहरुले एमसीसीबारे स्पष्ट भएरमात्रै संसदमा अघि बढाउनुपर्ने सुझाव दिएका हुन् । प्रधानमन्त्री देउवाले एमालेले संसद अवरोध गरिरहेको अवस्थामा संसद् सञ्चालन र एमसीसी अनुमोदन कसरी गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन  । बैठकमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री देउवालाई एमसीसीका विभिन्न दफाहरूमाथि उत्पन्न भएका संशयहरूमा स्पष्ट पारेरमात्रै अघि बढ्न सुझाव दिएका हुन् ।

बैठकमा कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी,राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीलगायतका दलका नेताहरूको सहभागिता रहेको थियो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपश्थित रहेको थियो । सर्वदलीय बैठकले एमालेलाई संसद बैठक अवरोध नगर्न पनि आग्रह गरेको छ । एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा गएका आफ्ना सांसदलाई कारवाही गर्न सफिारिस गर्दा पनि सभामुख अग्नी सापकोटाले कारवाही नगरेको भन्दै एमालेले प्रतिनिधि सभाको बैठक अवरोध गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया