आज सर्वदलीय बैठक बस्दै : एमसीसीबारे छलफल हुने, एमाले भने बैठकमा नजाने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । संसदमा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरिएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बैठक आज अपराह्न ४ बजे बस्नेछ । बैठकमा संसदमा सहभागी सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ । विगत लामो समयदेखि नेकपा एमालेले संसद अवरोध गर्दै आएकाले दुवै सदनका काम कारवाही प्रभावित हुँदै आएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदको अवरोध, एमसीसीलगायतका विषयमा सत्तागठबन्धनको बैठक बोलाउन आग्रह गरेलगत्तै देउवाले बैठक डाक्नुभएको हो । सत्ता गठबन्धनका सहयात्री नेकपा माओवादी र एकीकृत समाजवादी पार्टी एमसीसी जस्ताको तस्तै पारित गर्न नहुने अडानमा छन् ।
तर सरकारमाथि भने एमसीसी टेबल गर्न दबाव छ । आफू सरकारमा हुँदा संसदबाट पारित गर्न खोज्ने विपक्षी नेकपा एमाले अहिले पर्ख र हेरको नीतिमा छ ।
यसैबिच, प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले भने अनुपस्थित हुने भएको छ । प्रधानमन्त्रीले एमसीसी पारितका विषयमा छलफल गर्न बैठक बोलाएको भन्ने जानकारी पाएको हुँदा एमाले उक्त बैठकमा सहभागी नहुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
एमालेले माधव नेपाल लगायतका १४ सांसदलाई आफुले गरेको कारबाहीलाई सभामुख र सदनले मान्यता नदिएसम्म संसद बैठकमा सहभागि नहुने बताईरहेको छ ।