मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ- रावल
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफूलाई सोध्दै नसोधी एमाले सल्लाहकार परिषदको सदस्य बनाएको भन्दै आपत्ती जनाएका छन् । नेता रावलले ट्विट मार्फत आफूलाई सोध्दै नसोधी टिका लगाएको भन्दै आपत्ती जनाएका हुन् ।
उनले ट्विट मार्फत भनेका छन,मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो ।यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।
नेकपा एमाले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीविहीन भएका थिए ।
अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शङ्कर पोखरेलले बताएका थिए ।
उनले थप जिम्मेवारीका लागि अध्यक्ष ओली र डा रावलको परामर्शबमोजिम हुने बताए । पार्टीको गत मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरेको थियो ।