सोमबार, असोज १५, २०८०

कांग्रेसको सभापतिमा शेरबहादुर देउवा दोस्रोपटक निर्वाचित, अन्य पदाधिकारीको मतगणना सानेपामा

फ्ल्यासन्युज नेपाल२०७८ मंसिर २९ गते १२:४६

काठमाडाै । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा दोस्रोपटक निर्वाचित भएका छन् । १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत ल्याएर देउवा सभापतिमा दोहोरिएका हुन् ।

देउवाले २७३३ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी डा। शेखर कोइरालाले १८५५ मत पाएका छन् । कोइरालाले भन्दा देउवाको ८७८ मत बढी रहेको छ । महाधिवेशनमा कूल चार हजार ७ सय ४३ मतदातामध्ये चार हजार ६ सय २३ जनाले दोस्रो चरणमा मतदान गरेका थिए । त्यसपछि ३५ मत बदर भएको छ । सभापति पदका प्रत्यासीमध्ये कसैले पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः मतदान भएको हो । दिउँसो साढे तीन बजेबाट सुरु भएको मतदान राति नौ बजे सम्पन्न भएको थियो भने मतगणना राति १२ बजेबाट सुरु गरिएको थियो ।

यसअघि पहिलो चरणमा भएको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले दुई हजार २५८ र उनका प्रतिद्वन्द्वी डा शेखर कोइरालाले एक हजार ७२९ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका थिए । प्रतिस्पर्धाबाट बाहिरिएपछि सिंह, निधि र गुरुङले सभापतिमा देउवालाई समर्थन गरेका थिए । पदाधिकारी र सदस्यहरूको मतगणना पनि आजैबाट पार्टी कार्यालय सानेपामा सुरु हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेस महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुँदैछन् ।

मत गणना

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा निर्वाचन भएको अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना आजबाट सुरु हुने भएको छ । सभापतिको नजिता घोषणा गर्दै निर्वाचन आयोगका संयोजक वरिष्ठ अविक्ता गोपालकृष्ण घिमिरेले आजै दिउँसोबाट बाँकी मत गणना थाल्ने जानकारी दिए । गत सोमबार भएको मतदानपछि मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ । मत गणना सानेपामै गर्ने तयारी रहेको जनाइएको छ । पहिले महामन्त्रीलगायत पदाधिकारीको गणना हुने र त्यसपछि सदस्यहरुको मत गणना हुने जनाइएको छ ।

तपाइँको प्रतिक्रिया