सभामुखको भुमिका भनेको खेलको अम्पायर जस्तै हो- सापकोटा
काठमाडौं । सभामुख अग्नी प्रसाद सापकोटाले सभामुखको भूमिका भनेको खेलको अम्पाएरको जस्तो भएको बताएका छन् । उनले जब संसद्मा खेल सुरु हुन्छ तब सभामुखको भूमिका देखिने धारणा स्पष्ट पारे ।
सोमबार संसदको भवनको अवलोकन गर्र्दै सभामुख सापकोटाले उक्त कुरा बताएका हुन् । उनले भने– ‘मुख्यत् यो सदन भनेपछि पार्टीहरुकै भुमिका निर्णायक हुन्छ । सभामुखको भुमिका भनेको त समन्वय गर्ने, सहजीकरण गर्ने अर्थात खेलको अम्पायर जस्तो पनि हो सभामुख । जतिबेला खेल सुरु हुन्छ त्यतिबेर सभामुखको भूमिका देखिँदै जान्छ । हामीले आफूले गर्नुपर्ने तयारी गरेका छौं । संविधानले, नियमले, कानूनले निर्दिष्ट गरेको भोलि नै गर्नुपर्ने कतिपय कुराहरु भोलि नै हुन्छ ।’
सभामुख सापकोटाले विधेयक अधिवेशन भएको हुनाले यस अधिवेशनबाट विधेयक पास गर्ने र विधेयक पास गराउनका लागि समझदारी जुटाउने मूल एजेण्डा रहेको उल्लेख गरे । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै सभामुख सापकोटाले एमालेले विगतमा गरेको संसद् अवरोध संविधान र नियमसम्मत् नभएको बताए । उनले आफूले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर तटस्थ र निष्पक्ष भूमिका निर्वाह गरिरहेको पनि बताए ।
उनले भने– ‘उहाँहरुले जे गरिराख्नु भएको छ त्यो संविधान, नियम, कानून अनुसार छैन । नेपाली जनताले यसलाई छर्लंग बुझेका छन् । जहाँसम्म मेरो सवाल छ, मैले तटस्थ, निष्पक्ष, स्वतन्त्र रुपमै गरेको छु र अझ मैले भन्नुपर्दाखेरी मैले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर नै सबै कुरा गरेको छु र सधैंभरी त्यही गर्न म प्रतिबद्ध छु ।’