मंगलबार, असोज १६, २०८०

नेपालको स्वीजरल्याण्ड भनिने स्थानबाट प्रकृति नियाल्दा (फोटो फिचर)

फ्ल्यासन्युज नेपाल२०७८ मंसिर २१ गते १३:२६

तेजन्द्र घर्ति मगर

नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण मुलुक हो । यहाँको विविधता र सौन्दर्यताको बयान शब्दमा गर्न अधुरो र अपूरो देखिन्छ । प्राकृति सौन्दर्यताले भरिपूर्ण यहाँका बन जंगल, डाँडापाखा,खोलानाला सँगै हिमाल, पहाड र तराईमा छुट्टै किसिमका आनन्ददायी ठाउँहरु रहेका छन् ।

सोही मध्येको एक हो दोलखामा रहेको जिरी ,हिमाली जिल्लामा रहेको यहाँको प्राकृतिक सौन्दर्यता नियाल्न वर्षेनी स्वदेशी तथा विदेशी पर्यटकहरु पुग्ने गर्छन् । संघीय राजधानी काठमाडौं सजिलै पुग्न सकिने उक्त ठाउँमा पंक्तिकारको टोली केही दिन आरामदायी र रमाइलो गर्न उक्त क्षेत्रमा पुगेको थियो । जिरी भन्दा केही माथि समून्द्री सतहबाट ३७ सय मिटर उचाइमा रहेको चेर्दुग डाँडा झनै मनमोहक रहेको छ ।

जिरी आउने पर्यटकहरुले जिरी भित्रका पर्यटकीय गन्तव्यहरु जिरेश्वर मन्दिर, हलेश्वर मन्दिर, ढुगेश्वरी मन्दिर, पाँचपोखरी, जटापोखरी, राम्बोले देबी, जिरी बजार, ठुलोनागी, हनुमन्ते ,सिक्री गाँउ, लावती झरना,चेर्दुग डाडा, चेर्दुग चिज उत्पादन केन्द, चेन्चो डाडा, बुद्धपार्क, कालोभिर, जिरी चियावगान, रमिते डाँडा आदी क्षेत्रको छुट्टै महत्व रहेको देखिन्छ ।

धेरै मान्छेहरुले जिरीलाई स्वीजरल्याण्डको जुरीस शहरसँग तुलना पनि गर्ने गर्छन् । यहाँको प्राकृतिक भूबनोट जुरीससँग मिल्दोजूल्दो रहेको देखिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रथम आरोही सर एड्मन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा जिरी हुँदै सगरमाथा पुगेकाले सन् १९५३ देखि जिरीलाई सगरमाथाको प्रवेशद्वारसमेत भनिन थालिएको हो ।

जिरी आउने जोकसैले पनि चिज, छुर्पी, चिया, आलु, किबी, ट्राउट माछा जस्ता स्थानीय उत्पादनको स्वाद समेत लिन सक्छन् । त्यहाँबाट गौरीशंकर हिमाल,पाथीभरा हिमाल, गणेश हिमाल लगायतका उत्तरी हिमश्रृखलाहरु नजिकैबाट नियाल्दा भूस्वर्गको आभास गर्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया