पार्टीभित्रको प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको रुपमा लिनुपर्छ: प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रको प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको रुपमा लिनु पर्ने तर्क गरेका छन् । कांग्रेस महाधिवशेनमा थुप्रै जना विभिन्न पदहरुमा आकांक्षी रहेको सन्दर्भमा प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन् ।
शुक्रबार कांग्रेसको प्रदेश नं १ को प्रथम प्रदेश अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पार्टी र देशको हितका लागि यो महाधिवेशनबाट कांग्रेसलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
‘अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नेपाली कांग्रेसको अगुवाईमा प्राप्त व्यवस्था भएको बताउँदै उनले कांग्रेसले सबै ठूलठूला परिवर्तनको नेतृत्व गरेको दाबी गरे । मुलुकको विकास र समृद्धिको पूर्वाधार पनि कांग्रेसले नै खडा गरिसकेको छ,’ उनले भने, ‘यो महाधिवेशनबाट पार्टीलाई अझै बलियो बनाएर आगामी तीनै तहमा निर्वाचनमा कांग्रेसलाई विजयी गराउनुपर्ने दायित्व हाम्रो काँधमा छ । कांग्रेसले मात्रै यो मुलुकको विकास र समृद्धिको विकास गर्न सक्छ भन्ने प्रमाणित भइसकेको छ ।’
देउवाले महाधिवेशनबाट जनतामा मन जित्न सक्ने खालको नेतृत्व चयन गर्नुपर्ने बताए । ‘केही महिनाभित्रै स्थानीय तहको निर्वाचन र एक वर्षभित्रै संघ र प्रदेशको निर्वाचनमा जाँदैछौँ । त्यसैले यो महाधिवेशन लगत्तै हाम्रो ध्यान चुनावमा हुनुपर्छ,’ उनले अघि भने, ‘पार्टीभित्रको प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको रुपमा लिनुपर्छ । महाधिवेशन लगत्तै सबै नेता कार्यकर्ता चुनावको तयारीमा केन्द्रित हुनुपर्छ ।’