कांग्रेस निर्वाचन समितिका संयोजक यादवले दिए राजीनामा, घिमिरे मनोनित
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको आशन्न १४ औँ महाधिवेशनको मुखमा निर्वाचन समितिका संयोजक फेरिएका छन् । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएपछि उनको ठाउँमा अर्का अधिवक्ता गोपालकृष्ण घिमिरेलाई मनोनयन गरिएको छ ।
यादवले समितिमा रहेर काम गर्न नसक्ने भन्दै राजीनामा दिएका थिए । सभापति शेरबहादुर देउवाले उनको राजीनामा स्वीकृत गरेका छन् । यादवले आफूले विवादास्पद अवस्थामा पार्टीको महाधिवेशन गराउन नसक्ने भन्दै पटक–पटक पदबाट राजीनामा दिँदै आएका थिए ।
पछिल्लो पटक डडेलधुराको विवादलाई लिएर आन्दोलनरत पक्षसँग चर्को भनाभन भएपछि यादवले कार्यालय जानै छाडेका थिए । निर्वाचन समितिको काम नै रोकिने अवस्था भएपछि सभापति देउवाले उनको राजीनामा स्वीकृत गरेका हुन् । समितिको संयोजकको जिम्मेवारी पाएका घिमिरे निर्वाचन समितिकै सदस्य थिए । कांग्रेसको जिल्ला अधिवेशन चलिरहेको छ भने मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन हुँदैछ ।