शान्ति सुरक्षा कायम गर्न सरकारले विशेष जोड दिँदै आएको छ : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायको व्यावसायिक दक्षता र क्षमता अभिवृद्धिलाई सरकारले विशेष प्राथमिकता दिएको बताएका छन्। राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानद्वारा काठमाडौंमा आज आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै देउवाले सुरक्षा निकायलाई सबल बनाउन सके मात्रै मुलुक र नागरिकको सुरक्षा हुनेमा जोड दिए।
सरकारले मुलुकमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न विशेष जोड दिँदै आएको छु, प्रधानमन्त्री देउवाले भने।
उनले शान्ति, सुरक्षा, विकास निर्माण र सुशासनको आधारशीला भएको उल्लेख गर्दै उनले मुलुकको अस्तित्व जोगाउन तथा नागरिकको सुरक्षित जीवन सम्भव बनाउन सबल र सुदृढ आन्तरिक तथा बाह्य सुरक्षा प्रबन्ध आवश्यक भएको बताए। राष्ट्र र जनताप्रति अनुशासित, इमान्दार, व्यावसायिक र उत्पादनशील भएर काम गर्न उनले सशस्त्र प्रहरीलाई निर्देशन समेत दिए।
प्रधानमन्त्री देउवाले सीमा अपराध नियन्त्रणलगायत राष्ट्रियता तथा मुलुकको अस्मिता जोगाउन अग्रपङ्क्तिमा खटिएर काम गर्दैआएकामा सशस्त्र प्रहरीको प्रशंसा समेत गरेका छन्। रासस