मुस्ताङमा हिम पहिरो जाँदा सात जना घाइते
काठमाडौं । मुस्ताङमा हिम पहिरोमा परि सात जना घाइते भएका छन् आइतबार बिहान ११ बजेतीर मुस्ताङमा भीषण हिम पहिरो जाँदा भागदौडको क्रममा सात जना घाइते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङ, लार्जुङ र बोक्सी खोला माथि हिमाली लेकमा भीषण हिम पहिरो जाँदा दुई शिक्षक र एक विद्यार्थी सहित सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
प्रहरीको अनुसार थासाङ गापा मार्थि धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको थियो । हिमपहिरो करीब ३० मिनेटसम्म जारी रहेकोे प्रहरीले जनाएको छ ।
अकस्मात हिम पहिरो आएपछि कोवाङ, लार्जुङ, नाउरिकोट, बोक्सी खोलालगायतका स्थानमा बसोबास गर्ने स्थानियहरुको भाग दौड मच्चिएको थियो । बेनी–जोमजोस सडक यातायात समेत ३० मिनेट सम्म बन्द गर्न परेको थियो ।
घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली त्यसतर्फ गएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए ।