बुधबार, असोज १७, २०८०

महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन सक्दैन : नेता सिटौला

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक २४ गते १७:०५

काठमाडौ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताउनुभएको छ । नेता सिटौलाले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो ।

आज बुधवार काठमाण्डौको शान्ति बाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टी नेतृत्वका लागि स्वच्छ प्रतिस्पर्धा गर्न र पार्टीलाई एकताबद्ध बनाएर, देशप्रति समर्पित भएर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई सफलता मिलोस् भनि कामनासमेत गर्नुभयो ।

नेता सिटौलाले भन्नुभयो, ‘२७ गतेदेखि बाँकी रहेका वडा अधिवेशन सम्पन्न गरेर मङ्सिरको २७ गते पार्टीका केन्द्रीय पदाधिकारी हामीले निर्वाचित गर्नुछ । अत्यन्तै छोटो कार्यतालिका छ तर एक दिन पनि यो कार्यतालिका परिवर्तन हुन सक्दैन । यसलाई हामीले सफल बनाउनु छ, सबैले मिलेर । तर प्रतिस्पर्धा गर्नुछ । स्वच्छ प्रतिस्पर्धा गर्नुछ । आन्तरिक लोकतन्त्रको अभ्यास दिल खोलेर गर्नुछ । र प्रतिस्पर्धापछि पार्टीभित्र सम्पूर्ण एकता निर्माण गरेर पनि देशप्रति समर्पित पार्टीका रूपमा नेपाली कांग्रेसलाई उर्तानुछ । यसका लागि तपाईँ सम्पूर्ण साथीहरूलाई सफलता मिलोस् । प्रतिस्पर्धामा सफलता मिलोस् भनेर म शुभकामना दिन चाहन्छु ।’

पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका नेता सिटौलाले छठ पर्वको शुभकामना व्यक्त गर्दै नागरिकमा समृद्धि आउने गरी अघि बढ्न सरकार र राजनीतिक दलका नेताहरूलाई आग्रह गर्नुभयो ।

तपाइँको प्रतिक्रिया