आज छठ पर्व व्रत र शान्ति र विकासका लागि विश्व विज्ञान दिवस
हिन्दु धर्मालम्बीका दुई महत्त्वपूर्ण चाड दशैं र तिहार भर्खरै सकिएका छन् । अनि अब सुरु भएको छ, छठ पर्वको रौनक । हाम्रो पात्रो परिवारको तर्फबाट सबैभन्दा पहिले तपाईंहरु सबैलाई छठ पर्वको शुभकामना ।
नेपालको तराई क्षेत्रमा निकै धुमधामका साथ मनाइने छठ पर्व विशेषतः सूर्यको अनुष्ठान हो । वैदिक सनातन धर्ममा सूर्यलाई पनि देव मानिन्छ, सूर्यको वरपर पृथ्वी घुम्ने र शक्ति र ऊर्जाको केन्द्र सूर्यसँग मानवको अस्तित्व परिभाषित भएको हुन्छ । मानवको सहअस्तित्व त्यसैले पनि छठ पर्वसँग साँस्कृतिक रुपमा जोडिएको हुन्छ ।
सूर्यको प्रकाश, सूर्यको ऊर्जाको विषयमा अब वैज्ञानिक रुपमा पनि निकै धेरै कुराहरु प्रमाणित भइसकेका छन् । पृथ्वीको सम्पूर्ण ‘इकोसिस्टम’को एउटा महत्त्वपूर्ण आधार हो, सूर्य । त्यसैले पनि सूर्य, मानवजाति र पृथ्वीको अन्योन्याश्रीत सम्बन्धलाई धार्मिक रुपमा मात्र होइन, वैज्ञानिक रुपमा पनि परिभाषित गरिएको छ, प्रमाणित भएको छ ।
दीपावली अर्थात् तिहारको समापनसँगै छठ पर्वको हर्षोल्लासमय वातावरणले नेपालीभूमिलाई पुलकित बनाएको छ । षष्ठीका दिन मनाइने भएकाले यस पर्वको नाम अप्रभंशित हुँदै छठ पर्व भएको विश्वास पनि गरिन्छ । तराई क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्व पछिल्ला वर्षहरुमा पहाडी क्षेत्रमा पनि उत्तिकै लोकप्रिय हुन थालेको छ ।
सद्भाव र भातृत्वको प्रतीकसमेत मानिने यस पर्वलाई बढो हर्ष अनि उल्लासका साथ नदी, तालतलैया या पोखरीको किनारमा शृङ्गार गरेर तयार पारिएका घाट, केराका थम्बा, झिलिमिली बत्तीबीच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको किरणलाई अर्घ्य दिएर यो चाड मनाइने गरिन्छ ।
छठी माताको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनका लागि छरछिमेकबाट पनि विभिन्न प्रसादहरु दिने चलन रहेको छ । केराका घोगा, नरिबल, भोगटे अनि अन्य फलफूलहरुलाई छठको प्रसादका रुपमा लिने चलन पनि छ । यसरी तयार पारिएको फलफूललाई छठको अन्तिम दिन विहानै अर्घ्य स्वरुप उदाउँदो सूर्यलाई देखाउने र प्रसादस्वरुप घर लैजाने चलन छ ।
छठ विशुद्धरुपमा एउटा धार्मिक आस्थाको पर्व हो । यो पर्वमा जनावर काटमार गर्ने वा बलि दिने चलन चाहिँ छैन ।
छठ पर्व चार दिनसम्म मनाइने चलन रहेको छ ।
यसको पहिलो दिनलाई अरबा अथवा नहाई खाय भनिन्छ । त्यस्तै, दोस्रो दिनलाई खर्ना, तेस्रो दिनलाई सँझिया अर्घ्य अर्थात् छठ भनिन्छ । कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको यो पर्वको तेस्रो दिन छठ अर्थात् षष्ठी हो । यसको अन्तिम दिन अर्थात् चौथो दिनलाई विहनिया अर्घ्य पारण भनिन्छ ।
यो पर्वका यी चार दिन विभिन्न कामहरु गरिन्छ । अरबाको दिन गाउँका युवाहरु मिलेर छठ मनाइने नदी या ताल वा पोखरीको किनारलाई सजाउने, सडकहरु सफा गर्ने गर्छन् ।
यसको तेस्रो दिन अर्थात् सँझिया घाटको दिन साँझमा व्रतालुहरु त्यसरी सजाइएका खोला, नदी, तलाउ अथवा जलाशयको पानीमा आधा डुबेर अस्तान लागेको सूर्यलाई दूधको अर्घ्य दिने गर्छन् । अनि चौथो दिनको विहान सूर्य उदाउनुअघि नै छठ घाटमा पुगेर उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर व्रतको समापन गर्ने चलन छ ।
छठको दिन विभिन्न समूह बनाएर सामूहिक रुपमा भजन गाउने र रमाइलो गर्ने चलन पनि रहेको छ । यस्तो गर्दा मैथिली भाषाका पारम्पारिक गीतसंगीतलाई बढी स्थान दिइन्छ ।
छठ मन्त्रः
एष ब्रम्हा च विष्णुष्च शिवस् स्कन्दस् प्रजापतीस् ।
महेन्द्रोधनदस् कालो यमस् सोमो ह्यपाम्पतिस् ।।
एनमापत्सु क्रिच्छेषु कन्तारेषु भयेषु च ।
किर्तयन पुरुष्स् कष्चिन्नवसिदती राघव ।।।
आदित्य्म सर्बकर्तंरं कलाद्वदाद्शम्युतमं ।
पद्महस्त्द्वयं वन्दे सर्वलोकैकभस्करमं ।।
छठको व्रत लिनेहरुले नुहाएर शुद्ध भएर एक छाक मात्र खाने गर्छन् । गाईको गोबर र माटोले लिपेको घरको एक स्थानमा उनीहरु रहने गर्छन् । यो ठाउँलाई शुद्ध बनाउनका लागि गंगाजल र अरुवा चामल पानी छर्किने पनि गरिन्छ । व्रतालुहरुले केराको खाने एक छाक केराको पातमा राखेर खाने गर्छन् । उनीहरुले आफू बसेको शुद्ध बनाइएको कोठा बन्द गरेर पूजा गर्ने चलन रहेको छ । छठको विशेष परिकारमा ठेकुवा, चामलको पीठोको भुसुवा र फलफूलका अन्य सामग्रीहरु पर्ने गर्छन् ।
छठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल, मिठाईलगायतका खाद्यान्नहरु आवश्यक पर्छन् । ती खाद्यान्नहरुलाई साँझपख बाँसको चोयाले बुनेको छैंटीमा सजाएर खोला, नदी र तलाउ किनारमा लैजाने गरिन्छ । छैंटीलाई टाउकोमा बोकेर विधिपूर्वक सजाइएका तलाउसम्म पुग्ने श्रद्धालुहरुको तस्वीर मनमोहक देखिन्छ ।
नदी किनार वा तलाउमा पुगेर व्रतालुहरुले आधा शरीर पानीमा डुबाएर अस्ताउँदै सूर्यलाई अर्घ्य दिन्छन् । भोलिपल्ट विहान यही अनुरुप जलाशयमा डुबुल्की मारेर उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । जो छठको व्रत बस्छन्, उनीहरुले एक महिनाअघि देखि नै माछामासु खाँदैनन् । उनीहरुले लसुन प्याजसमेत खान नहुने विश्वास छ ।
छठ पर्वको विशेष धार्मिक महत्त्व रहेको छ । महाभारतमा कर्णले प्राप्त गरेको अथाह ऐश्वर्य अनि शक्ति सबै छठी माताको व्रतको प्रभावका कारण भएको विश्वास गरिन्छ । त्यस्तै, द्रौपदीले पनि छठी माताको व्रत लिएको कुरा महाभारतमा उल्लेख गरिएको छ ।
प्रकृति र सभ्यताको अनुपम उदाहरण छठ पर्वको सबैलाई फेरि पनि शुभकामना । हामी सम्पूर्ण मानवहरु सूर्यको जाज्वल्यमान उपस्थिति र सूर्य देवको हामीप्रतिको कृपाका लागि सधैंसधैं अनुग्रहित छौँ । छठी माताका विभिन्न भजनकीर्तन बजाएर जलाशय वरपर गाडिएका केराका थम्बा अनि उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा प्रकृति र मानवबीचको गहिरो अन्तरसम्बन्धलाई सनातन सँस्कारले सदियौँदेखि पुनर्परिभाषित गरिरहेको आभास हुन्छ ।
यस वर्ष पनि अन्य वर्षहरुमा झैँ पानी अनि सूर्य दुवैले हामीमाथि कल्याण बक्सिउन्, यही पानी र सूर्यको प्रकाशका कारण बन्ने यही पानीको बाफ र बादलहरुले धर्तीलाई भिजाइरहुन्, यो धर्तीलाई उर्वर बनाइरहुन्, हरियाली छाइरहोस् ।
जलचर थलचर सबैको कल्याण होस्, प्राणीमा प्राण होस् अनि धर्मको जय होस् । छठी माताले हामी सबैको जय गरुन् !
शान्ति र विकासका लागि विश्व विज्ञान दिवस
Building climate-ready communities भन्ने नाराका साथ आज विश्वभरि शान्ति र विकासका लागि विज्ञान दिवस मनाँइदैछ । वर्षेनी १० नोभेम्बरमा विश्वभर शान्ति र विकासका लािग विश्व विज्ञान दिवस मनाइने गरिन्छ । हाम्रो समाजमा विज्ञानको महत्त्वपूर्ण भूमिका र पछिल्लो समय निस्किएका विभिन्न वैज्ञानिक मुद्दाहरुको बहसमा व्यापक संलग्नता होस् र हाम्रो जीवनलाई विज्ञानले थप सहज बनाओस् र यसको प्रभावबारे बुझ्न सहज होस् भन्ने हेतुले संयुक्त राष्ट्र संघले यो दिवस मनाउन सुरु गरेको हो ।
विज्ञानको प्रभाव, विज्ञानको प्रगति र यसको विकासले हाम्रो समाजमा पार्न सक्ने प्रभाव, यसको आवश्यकताबारे सबैजना सूचित हुनुपर्छ भन्ने संयुक्त राष्ट्र संघले सोच विकास गर्दै आएको छ । त्यसैले हाम्रो समाजलाई विज्ञान सँगसँगै र यसलाई महत्त्वपूर्ण पक्ष बनाएर अगाडि बढोस् भन्ने चाहना आफ्नो रहेको राष्ट्र संघले यसअघि बताउँदै आएको छ ।
यसका साथसाथै विभिन्न देशहरुबीच वैज्ञानिक विकास र सोचमा एकरुपता होस् र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एकता बढावा होस् भन्ने चाहना पनि यो दिवस मनाउनुको एक कारण हो । सामाजिक लाभका लागि विज्ञानको प्रयोग, विज्ञानको उपयोगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु नवीकरण होस्, विज्ञानले सामना गरिरहेका चुनौतिहरुमा ध्यान जाओस् र वैज्ञानिक प्रयासका लागि समर्थन जुटाउनु शान्ति र विकासका लागि विश्व विज्ञान दिवसका उद्देश्य हुन् ।
यो दिवस मनाउन सुरु गरिएको चाहिँ सन् २००१ देखि हो । युनेस्कोले शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाउन सुरु गरेपछि विभिन्न वैज्ञानिक परियोजना तथा कार्यक्रमहरु पारित भएका छन्, सफल भएका छन् । युद्ध ग्रसित क्षेत्रका वैज्ञानिकहरुलाई विश्वका अरु वैज्ञानिकसँग संगठित गर्दै लैजानु पनि आजको दिवसको एक उद्देश्य हो । हामी जन्मिएको यो वैज्ञानिक युगमा विज्ञानले शान्ति र विकासका लागि पुर्याउने योगदान अतुलनीय छ ।
शान्ति र विकासका लागि विश्व विज्ञान दिवसको सबैमा शुभकामना !