ढुङ्गाको व्यापार अन्त्य गरेर सडक निर्माण गर्न तत्काल पहल कदमी लिनेछु: अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडक मार्ग निर्माणमा भइरहेको ढिलासुस्ती तत्काल अन्त्य गरी काम सुचारु गरिने बताउनु भएको छ । आज (शुक्रबार) राजधानीमा विभिन्न पर्वहरूका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले त्यस मार्गमा भइरहेको ‘व्यापार’को अन्त्य गरी तत्काल कदम चाल्ने बताउनु भएको हो ।
आफूले चन्द्रागिरी–चित्लाङ खण्डमा ढुङ्गाको व्यापार गरिरहेको सुनेकाले त्यस्तो व्यापार तत्काल बन्द गरी काम सुचारु गर्ने बताएका छन्। ‘चन्द्रागिरीको विकासका लागि सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म म पहल र वातावरण निर्माण गर्ने प्रयत्न गर्नेछु’, मन्त्री शर्माले भने, ‘यहाँको अहिलेको ठूलो समस्या भनेको गणेशमान सिंह मार्गको चित्लाङ खण्डमा ढिलासुस्ती भएर यो मार्ग व्यापारतिर लागेको भन्ने सुनेको छु। त्यो ढुङ्गाको व्यापार अन्त्य गरेर छिटोभन्दा छिटो यो सडक निर्माण गर्न मैले तत्काल पहल कदमी लिनेछु।’
अर्थमन्त्री शर्माले काठमाडौंको ट्राफिक जामलाई कम गर्न चन्द्रागिरी क्षेत्रमा बसपार्क र सामुदायिक अस्पताल निर्माणको पहल समेत गर्ने समेत प्रतिवद्धता जनाउनु भएको छ ।