शनिबार, असोज १३, २०८०

कोरिया जाने कामदारले ५ हजार डलरको कोभिड बीमा गर्नुपर्ने

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक १० गते १५:२२

इपीएस प्रणाली अन्तर्गत दक्षिण कोरिया जाने कामदारहरुले ५ हजार अमेरिकी डलर बराबरको बीमा गर्नुपर्ने भएको छ । कोभिड महामारीको अवस्थामा कोरिया जाने कामदारहरुले पुरा गर्नुपर्ने शर्त मध्ये अनिवार्य कोभिड जोखिम बीमा पनि गर्नु पर्ने भएको हो ।

दक्षिण कोरिया जाने कामदारहरुले अहिलेको अवस्थामा वहन गर्नु पर्ने संभावित जोखिम र त्यसलाई प्रस्तावित कोभिड बीमा पोलिसीले अधिकतम रुपमा सम्बोधन गर्ने गरी असोज १८ को विभागस्तरीय निर्णयबाट बीमा पोलिसी निर्धारण गरि सम्बन्धित बीमा कम्पनीहरुलाई पत्राचार गरिएको थियो ।

 

विभागको प्रस्ताव अनुसार एनएलजी, अजोड, प्रभु र प्रिमियर इन्स्योरेन्सले पोलिसी जारी गर्न तयार भएका हुन् ।

कोरिया जाने कामदारहरुले सम्बन्धित बीमा कम्पनीहरुसँग सम्पर्क गरी जोखिम बीमा गरी प्रमाण पत्र वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखामा बुझाउन पर्नेछ ।

सूचीकृत बाहेकका अन्य बीमा कम्पनीहरु यस बीमा पोलिसी दिन तयार भई सूचीकृत हुन आएमा सूचीकृत गरिँदै लगिने समेत विभागले जनाएको छ ।

इपीएस अन्तर्गत नेपालबाट कोरिया जाने नेपाली कामदारहरु कोभिड १९ महामारीको कारणले लामो समयदेखि कोरिया जान पाएका छैनन् ।

पछिल्लो समय कोभिडको अवस्था सामान्य हुँदै गएको सन्दर्भमा कोभिड प्रोटोकलको पूर्ण पालनाको सुनिश्चितता गरी कोरिया पक्षबाट प्रतिद्धता अनुरुप सरकारले कामदार लैजाने गरी प्रकृया अगाडी बढाएको हो ।

तपाइँको प्रतिक्रिया