प्रधानन्यायाधीशको सम्बन्धमा उठेका शंका,उपशंकाले अझै गम्भीर हुन पुगेको छ: पूर्वन्यायाधीश फोरम
पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कार्यशैली प्रति प्रश्न उठाएको छ । प्रधानन्यायाधीशको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न व्यक्त गर्दै पूर्व न्यायाधीश फोरमले न्यायापालिका निश्पक्ष हुन नसकेको जनाएको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै पूर्व न्यायाधीश फोरम, नेपालले भनेको छ, ुमन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको पनि कोटा भन्ने शीर्षक राखी प्रिन्ट मिडिया र अनलाइनमा समाचार सम्प्रेषण हुनु र त्यसको नेपाल बार एसोसियशनतर्फबाट समेत भएको विरोधको बाबजुद प्रधानन्यायाधीशको नाताका मानिस मन्त्रिपरिषद्मा समावेश गराइनु र चर्को विरोधपश्चात मन्त्रीको राजीनामा आउनुले प्रधानन्यायाधीशको आचरण र व्यवहारमा नै गम्भीर शंका उत्पन्न गराएको छ ।
सरकारसँग भागबण्डा खोज्नु, सर्वोच्चमा तोकिने पेसी सूची निर्धारणमा गर्दा व्यापक मनोमानी हुनु, गुनासोको सुनुवाइ नहुनु लगायतमा प्रश्न उठाउँदै फोरमले प्रधानन्यायाधीश राणाप्रति प्रश्न उठाएको छ । ‘न्यायपालिकाको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउनका लागि प्रधानन्यायाधीश स्वयंले निकास दिनु यथोचित हुनसक्दछ । १५ बुँदे विज्ञप्तिमा प्रधानन्यायाधीश राणा प्राकृतिक न्यायको सिद्धान्त विपरित अघि बढेको आरोप समेत लगाएको छ ।