सोमबार, असोज १५, २०८०

महाकाली नदीको बाढीमा फसेका पाँच जना रुखमा, उद्धारको पर्खाइमा

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक २ गते १६:१३

कञ्चनपुर – भीमदत्त नगरपालिका–९ मुसेट्टिका महाकाली नदीका बाढीमा फसेका एकै परिवारका पाँच जना उद्धारको पर्खाइमा छन् ।

हिजो सोमवार राति घर नजिकैको कुखुराको खोर हेरालाका रूपमा गएका पुष्कर, वसन्ती, अशोक र अजय नायक र दीर्घमती खड्का बाढीमा फसेका जनाइएको छ ।

स्थानीय बासिन्दाका अनुसार उनीहरू बाढीबाट जोगिन रुखमा बसेका छन् । बाढीमा फसेका परिवारको उद्धारका लागि बीओपी खल्ला र ब्रह्मदेवबाट सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको छ । बाढीका कारण बाटोको ठाउँ–ठाउँमा अवरोध हुँदा उद्धार टोली पुग्न ढिलाइ भएको छ ।

यसैबीच दोधारा चाँदनी–१० कुतियाकभरमा रहेको सशस्त्र प्रहरीको अस्थायी क्याम्पमा पानी पसेको छ । क्याम्पमा पानी पसेपछि सशस्त्र प्रहरी नजिकैको विद्यालयमा सरेको छ ।

सुकाएको धान बगायो

लगातारको वर्षाका कारण लालझाडी गाउँपालिका क्षेत्रका किसानले काटेको धान पूरै बगेर क्षति भएको छ । अत्यधिक वर्षाका कारण खेतमा काटेको धान दोदा नदीमा बगेर गएपछि स्थानीय किसान मर्कामा परेका छन् ।

नन्दगाउँ, कस्वा, विनावारी, नौरङ्गा, विचवालगायत क्षेत्रका किसानले खेतमा काटेको धान पूरै बगेर गएपछि करोडौँको क्षति भएको गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले जानकारी दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया