शनिबार, असोज १३, २०८०

सरकारलाई विप्लव माओवादीको चेतावनी, तीन बुँदे सहमती कार्यान्वयन भएन भने अवस्था जटिल हुनसक्छ

फ्ल्यासन्युज नेपाल२०७८ असोज १८ गते १३:२४

काठमाडौं। नेत्र विक्रम चन्द विप्लव समूहले सरकारलाई तीन बुँदे सहमती पत्र लागू नभएको भन्दै ध्यानाकर्षण गरेको छ। आज विप्लव माओवादीका प्रवक्ता खड्क बहादुर विश्वकर्माले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै त्यसको अक्षरस पाालना गर्न ध्यानाकर्षण गरेको हो ।

सहमतिको कार्यान्वयनमा आनाकानी गर्दै गर्दा ओली सरकार बहिर्गमन भएपछि देउवा सरकार गठन भएको पहिलो सातामै सहमतिबारे ध्यानकर्षण गराउँदा समेत बेवास्ता भएको भन्दै समस्या समाधान नभएर झन् जटिल स्थितिमा जानसक्ने चेतावनी समेत दिएको हो।

नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘आजका मितिसम्म बन्दी नेता कार्यकर्ताहरू रिहा नहुनु र मुद्दा खारेज नहुनुले हाम्रो पार्टी, बन्दी नेता कार्यकर्ताहरू, उहाँका परिवारजन र नेपाली जनतामा आक्रोश र चिन्ता पैदा भएको छ। यो विषयलाई गम्भीरताका साथ लिन जरुरी छ। प्रधानमन्त्रीज्यू, तीन बुँदे सहमतिको शुरूमै कार्यान्वयन गर्नुपर्ने विषय बन्दीको रिहाइ र मुद्दाको खारेजी हो। यही विषय झन् बढी ढिला भइराखेको छ।’

आफ्नो पार्टीले तीन बुँदे सहमति पूर्ण प्रतिबद्धतासहित अक्षरशः लागू गरिराखेकाले सरकारले पनि आफ्नो सहमति लागू गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरेको छ। सरकारले सहमति पालना नगर्दा आशंका, अविश्वास, मनोवैज्ञानिक दबाब र ढिलासुस्तीको गुञ्जायस भएको आरोप लगाएको छ।

‘यो राष्ट्रिय राजनीतिक मुद्दा हो । यसर्थ विषयको गम्भीरता र संवेदनशीलतालाई दृष्टिगत गरी बन्दी रिहा र मुद्दा खारेज गर्नका निम्ति एक विशेष कार्यदल बनाएर कार्यसम्पादन गरी विषयको छिटोभन्दा छिटो निरूपणको अपेक्षा गर्दछौं‚’ ज्ञापनपत्रमा भनिएको छ ।

वार्ता र तीन बुँदे सहमतिले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा पारेको सकारात्मक प्रभाव र जन अपेक्षामाथि तुसारापात जस्तो विप्लवको ठहर छ।
हेर्नुहोस् विज्ञप्ति जस्ताको त्यस्तै

तपाइँको प्रतिक्रिया