गठबन्धनभित्र कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ – नेता सिंह
काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले गठबन्धनभित्र रहेका केही दलको आन्तरिक व्यवस्थापनको अलमलका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताएका छन्।
गणेशमान सिंहको २५ औँ स्मृति दिवसको अवसरमा शनिबार गणेशमान सिंह फाउन्डेसनले शोभा भगवतीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले गठबन्धनमा भएका दलहरुबीच कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको स्पष्ट पारेका हुन्।
उनले तैपनि छिट्टै सरकारले पूर्णता पाउने दावीसमेत गरे। नेता सिंहले कम्युनिष्टहरुको दुईतिहाइको सरकारले जनताको मर्म र भावनामा लगातार प्रहार गरेको भन्दै कम्युनिष्टहरुले संविधानको भावना र मर्मअनुसार काम गर्न नसकेकै कारण गठबन्धनको निर्माण भएको समेत बताए।
‘कम्युनिष्टहरु असफल हुँदा त्यसको प्रतिफलस्वरुप नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको हो’, नेता सिंहले भने, ‘कांग्रेस नेतृत्वको सरकारले जनताको भावनाअनुसार काम गर्नेछ।’
त्यस्तै नेता सिंहले पार्टीको १४ औं महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने दावी गरे।
पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको भन्दै उनले विवाद भएका जिल्लामा विधिविधानअनुसार समाधान गर्नु पर्नेमा जोड दिए।
‘पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको छ’, उनले भने, ‘महाधिवेशन निष्पक्ष तवरले गर्नुपर्दछ । विवाद भएका जिल्लामा विधिविधानअनुसार सामधान गर्न सभापतिलगायत सम्पूर्ण नेताहरु लाग्नुपर्दछ ।’
अर्को प्रसङ्गमा नेता सिंहले साझा उम्मेदवारको सम्भावना अझै नसकिएको बताए । त्यसका लागि निरन्तर छलफल भइरहेको उनले जानकारी दिए। तर आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने उनले स्पष्ट पारे।
कार्यक्रममा उनले सर्वोच्च नेता गणेशमान सिंहले नेपालको राजनीतिमा पुर्याएको योगदानको स्मरण गरेका थिए। जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि गणेशमान सिंहले नेपाली जनाताको सेवा गर्न नछोडेको उनले बताए।