कश्मिरका विखण्डनकारी नेता गिलानीको मृत्यु, पाकिस्तानी प्रधानमन्त्रीद्वारा दुख व्यक्त
एजेन्सी । कश्मिरका विखण्डनकारी नेता सइद अली गिलानीको निधन भएको छ । ९२ वर्षको उमेरमा उनको बिहीबार श्रीनगरस्थित आफ्नै घरमा निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिए ।
गिलानीको मृत्युपछि सम्भावित हिंसालाई मध्यनजर राख्दै कश्मिरको मुख्य सहर श्रीनगरका सडकमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले गिलानीको घरनजिकको सडकमा काँडेतार र अवरोध राखेको छ । सरकारले श्रीनगरमा कफ्र्यू लगाउने र इन्टरनेट सेवा अवरुद्ध गर्न सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पाकिस्तानले गिलानीको मृत्युप्रति शोक व्यक्त गरेको छ । प्रधानमन्त्री इमरान खानले गिलानीलाई ‘स्वतन्त्रताका योद्धा’ भन्दै उनको मृत्युबाट पाकिस्तान सरकार दुःखी भएको बताएका छन् । गिलानीले आफ्नो सम्पूर्ण जीवन जनता र उनीहरुको अधिकारका लागि लडेको खानले उल्लेख गरेका छन् ।
गिलानीले करिब १० वर्ष जेल जीवन बिताएका थिए । जमात(आई(इस्लामी पार्टीको तर्फबाट उनी भारत प्रशासित कश्मिरमा १५ वर्षसम्म विधान सभा सदस्य बने । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले सन् २०१९ मा जमात(आई(इस्लामीमाथि प्रतिबन्ध लगाएको थियो ।
गिलानीले झन्डै दुई दर्जन विखण्डनकारी पार्टीहरुको छाता संगठन अल पार्टिज हुरियत कन्फरेन्सको नेतृत्व गरेका थिए । उनले कश्मिरबारे हुने जुनसुकै वार्ताको विरोध गर्थे ।
भारत र पाकिस्तानले मुसलमानहरुको बाहुल्यता रहेको कश्मिरलाई आ–आफ्नो दाबी गर्दै आएका छन् । विखण्डनकारी आन्दोलनका कारण भारत प्रशासित कश्मिर विगत तीन दशकदेखि अशान्त छ ।