कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढेको छ । पछिल्ला २ दिनमा केही कम देखिएकोमा आज २ हजार २ सय ९५ संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर गरी १६ हजार २ सय ३३ जनाको परीक्षण गरिएको थियो ।
काठमाडौं जिल्लामा मात्रै ६ सय ६५ संक्रमित थपिएका छन् । त्यस्तै ललितपुरमा १ सय ३८ र भक्तपुरमा १ सय ३ सहित उपत्यकामा ९ सय ६ संक्रमित थपिएका छन् ।
यस्तै कास्कीमा १ सय ७ तथा सुनसरीमा १ सय संक्रमित थपिएको मन्त्रालयको तथ्यांक छ । विगत २४ घण्टामा नेपालमा थप १६ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय ३० पुगेको छ ।
हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८ सय ७४ छ । विगत २४ घण्टामा १८ सय ८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको तथ्यांकअनुसार पछिल्ला तीन दिनमा देशभर ५ लाख ९७ हजार ५ सय ९८ जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ ।
योसँगै नेपालमा कोरोनाको पूर्ण खोप लगाउनेको संख्या ४३ लाख ९६ हजार ४ सय २ पुगेको छ भने पहिलो मात्रा मात्र लगाउनेको संख्या ५३ लाख १७ हजार ४ सय ८३ पुगेको छ ।