आलमको मुद्दा हेर्न नमिल्नेमा
काठमाडौं । सर्वोच्च अदालतले मोहम्मद अफ्ताव आलमको मुद्दा हेर्न नमिल्नेमा राखेको छ । शुक्रबार न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा आलमको सुनुवाई तोकिएको थियो । पेसी सूचीको पहिलो नम्बरमा रहेको उक्त मुद्दा हेर्न नमिल्नेमा राखिएको हो ।
आलमाथि २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनको समयमा आफ्नो घरमा बम बनाइरहेको र त्यही समय बम विस्फोट हुँदा घाइतेलाई इँट्टाभट्टामा जलाएर मारेको आरोप छ ।
आलमलाई विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको छ । सो मुद्दामा आफूलाई थुनामा राख्न यस अघि जिल्ला अदालत र उच्च अदालतबाट भएको आदेश बदरको माग गरी सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले न्यायाधीश कुमार रेग्मीले हेर्न नमिल्ने भएको बताए । ‘पहिला जाहेरी दर्खास्त दर्ता भएको थिएन । जाहेरी दर्खास्त दर्ता गरी पाउन भनेर रिट जारी भएको थियो,’ उनले भने, ‘रिट पर्यो, रिट परेपछि परमादेश जारी भइसकेपछि कार्यान्वयन भएन अवहेलना परेको थियो, यसको आदेश न्यायाधीश रेग्मीले गरेका थिए ।’
‘सर्वोच्च अदालतले रिट जारी गरे अनुरुप जाहेरी दर्खास्त भएन भनेर रिट पर्यो सर्वोच्चमा, उनले भने, ‘त्यसमा परमादेश जारी दर्खास्त गरी अनुसन्धान गर्न सर्वोच्चबाट परमादेश आदेश भयो । आदेश भइसकेपछि त्यो आदेशको कार्यान्वयन नभएर अवहेलना हुँदा त्यसमा न्यायाधीश रेग्मीले कुनै एक आदेश गरेका थिए । त्यस आदेशको सन्दर्भमा आफूले हेर्न नमिल्नेमा राखेको उनले बताए ।’