कांग्रेस महाधिवेशन माघमा गर्ने प्रस्ताव,पौडेल पक्ष असन्तुष्ट
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन माघमा सार्ने शिर्ष नेताहरुबीच सहमती भएको छ । पटक पटक सर्दै आएको कांग्रेस महाधिवेशन तयारी नपुगेको भन्दै आगामी माघ गर्ने गरि प्रस्ताव अघि बढाएको छ ।
बिहीबारबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले घोषित महाधिवेशनको मितिलाई सार्ने तयारी गरेको हो । मिति सार्न शीर्ष नेतृत्व सहमत भए पनि कहिले गर्नेगरी कुन मितिलाई सार्ने भन्ने विषयमा भने सहमति जुटेको छैन ।
स्राेतका अनुसार सभापति शेर बहादुर देउवाले मंसिरमा महाधिवेशनको तयारी थालेर माघमा सक्ने गरि तयारी थालेको जनाइएको छ । बुधबारको पदाधिकारी बैठकमा भने सभापति देउवाले भदौमा प्रक्रिया सुरु गर्न सम्भव नहुने भन्दै पुनः सार्ने गरी मिति तोक्नुभन्दा अब मिति सार्न नपर्नेगरी तोकिने बताएका थिए ।
सभापति देउवाको सो धारणामा वरिष्ठ नेता रामचन्द्र पौडेल भने असहमत बनेका थिए । उनले भदौमा नै प्रक्रिया सुरु गर्नुपर्ने भन्दै आफ्नो असहमति देखाएका थिए । तर, अहिले भने सबै शीर्ष नेता महाधिवेशनको मिति सार्ने विषयमा एक मत देखिएका छन् ।
नेता रामचन्द्र पौडेल समूहले भने देउवाले पार्टी भित्र लोकतान्त्रीक नभई निरकुंश शैलीमा अघि बढेको आरोप लगाएका छन् । बेला बेला मिति सारेर पार्टीलाई अवैधानिक बनाउन खोजेको उनीहरुको आरोप रहेको छ । तर देउवा पक्षीय नेताहरुले भने पार्टी सरकारमा भएकाले सरकार र पार्टीको काम एकसाथ अघि बढाउन नसिकिने भन्दै महाधिवेशन सार्नु पर्ने बाध्यता रहेको बताउँदै आएका छन् ।