शनिबार, असोज १३, २०८०

जसपाका पूर्व अध्यक्ष ठाकुरले निर्वाचन आयोगविरुद्ध दायर मुद्दामा आज सुनुवाइ हुँदै

फ्ल्यासन्युज नेपाल२०७८ साउन १५ गते १३:२३

काठमाडौं । जनता समाजवादी पार्टीका पूर्वअध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमाथि सर्वोच्चमा आज पनि सुनुवाइ हुँदैछ ।

पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’ रोक्न माग गर्दै ठाकुरले पक्षले साउन ८ गते सर्वोच्चमा रिट हालेको थियो ।

आज न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा। कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको छ । सर्वोच्च अदालतले साउन दश गते सुनुवाइको क्रममा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

न्यायाधीश कुमार रेग्मीको इजलासले निर्वाचन आयोगमा यसबारे खुल्ला बहस पैरवी गराई निर्णय भएकाले दुवै पक्षसँगको छलफल पछि मात्रै अन्तरिम आदेश दिने, नदिनेबारे निर्णयमा पुग्ने उचित हुने ठहर गरेको थियो । त्यसका लागि आज मिति तोकिएको थियो । आज दुबै पक्षसँग छलफल हुन लागेको हो ।

निर्वाचन आयोगले साउन ११ गते कार्यकारिणी समिति सदस्यको बहुमत संख्याको आधारमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिइसकेको छ ।

यसैबीच सांसद पद पुनर्बहाली माग गर्दै पूर्वमाओवादी केन्द्रका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको पनि आजै सुनुवाइ हुँदै छ।

एमालेमा प्रवेश गरेपछि दल त्यागको कारबाहीमा परेका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार दर्ता गराएको रिट निवेदनको आज न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ हुने भएको हो।

तपाइँको प्रतिक्रिया