शनिबार, असोज १३, २०८०

माओवादीले सांसदबाट पदमुक्त गराएका नेताहरुको मुद्दा हेर्न नभ्याइनेमा

फ्ल्यासन्युज नेपाल२०७८ साउन १४ गते २०:३३

काठमाडौं । सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै पूर्वमाओवादीका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिट मुद्दा आज हेर्न नभ्याइनेमा परेको छ ।

प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी परमादेशबाट सांसद पदमा पुनर्वहालीको माग गर्दै बुधबार दायर गरेका थिए । आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको उनीहरुको दाबी छ । आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरुको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने माग रिट निवेदनको छ । नेकपा एमालेमा प्रवेश गरेपछि चैत २६ मा माओवादी केन्द्रको सिफारिसमा उनीहरुलाई संसद सचिवालयले सांसद पदबाट मुक्त गर्ने निर्णय गरेको थियो । त्यस्तै लुम्बिनीका प्रदेश सभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थीकाले साउन ४ गते रिट दर्ता गराएका थिए ।

उनीहरूले आफूहरूलाई विधानविपरीत हटाइएकाले पुनर्बहालीको माग गरेका छन् । रुपन्देहीबाट निर्वाचित न्यौपाने र गुल्मीबाट निर्वाचित पन्थी सांसदबाट बर्खास्त भएपछि एमालेमा सक्रिय छन् ।।

पाँचैजनाको रिटमाथिको सुनुवाइका लागि वरिष्ठतम न्यायाधीश दीपक कार्कीको इजलासमा पेसी तोकिएको थियो । तर, आज हेर्न नभ्याइनेमा परेको सर्वोच्च स्रोतले जनाएको छ ।

उनीहरू पाँचैजनाले आफूहरूलाई माओवादीले गरेको कारवाही गैरकानूनी भएको भन्दै उत्प्रेषणको आदेशबाट सांसद पदमा वहाली माग गरेका छन् । आफूहरूले दल त्याग नगरेको दावीसमेत उनीहरूको छ ।

तपाइँको प्रतिक्रिया