शनिबार, असोज १३, २०८०

१३ वर्षीया निशियाले जितिन् ओलम्पिकमा स्वर्ण

फ्ल्यासन्युज नेपाल२०७८ साउन १२ गते ११:४६

टोकियो । जापानकी स्केटबोर्डर मोमीजी निसियाले १३ वर्षको उमेरमा नै ओलम्पिकमा स्वर्ण जितेकी छन् । टोकियो ओलम्पिक–२०२० अन्तर्गत सोमबार भएको महिला स्ट्रिट स्केटबोर्डिङमा उनले स्वर्ण जितेकी हुन् । १३ वर्षीया निशिया आफूभन्दा कान्छी ब्राजिलकी रायसा लिएललाई पछि पार्दै स्वर्ण जितिन् । जापानकै १६ वर्षिया फुन्ना नकायामाले भने कास्यपदक हात पारिन् ।

ओलम्पिकमा एकै इभेन्टमा पदक जित्ने खेलाडीमा यो नै सबैभन्दा कम उमेरको पोडियम बन्यो । पदक जित्नेको औसत उमेर १४ वर्ष १ सय ९१ दिन रहेको थियो । निसियाले कुल १५.२६ स्कोर गर्दै स्वर्ण जितेकी हुन् । लिएलले १४.६४ स्कोर जोडेकी थिइन् । निसियाले ओलम्पिकमा स्वर्ण जित्ने कान्छी खेलाडीको कीर्तिमान भने तोड्न सकिनन् ।

यसअघि १९३६ को बर्लिन गेम्समा मार्जरी गेस्ट्रिङले १३ वर्ष २ सय ६७ दिनमा स्वर्ण जितेकी थिइन् । निसियाभन्दा ६३ दिन कम उमेरमा उनले स्प्रिङबोर्डमा स्वर्ण जितेकी थिइन् । यो कीर्तिमान भने टोकियो ओलम्पिकमा तोडिने सम्भावना छ । जापानकी कोकोना हिराकी (१२ वर्ष ३ सय ४३ दिन) र बेलायतकी स्काइ ब्राउन (१३ वर्ष २८ दिन)ले बुधबार हुने महिला पार्क स्केट बोर्डिङमा प्रतिस्पर्धा गर्नेछन् ।

स्केटबोर्डीङले पहिलोपटक ओलम्पिकमा स्थान बनाएकोले पनि यसमा अधिकांश युवा खेलाडीले नै प्रतिस्पर्धा गर्दै आएका छन् ।

तपाइँको प्रतिक्रिया