सत्तापक्ष र प्रतिपक्षबीच संसदमा आरोप–प्रत्यारोप
काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच नयाँ सरकार निर्माण र सर्वोच्च अदालतको फैसलालाई लिएर चर्को आरोप प्रत्यारोप भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा सत्तापक्ष र प्रतिपक्ष आरोप –प्रत्यारोपमा उत्रिएका हुन् । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले देउवा जनादेशबाट नभई परमादेशबाट प्रधानमन्त्री बनेको भन्दै कटाक्ष गर्नुभयो । नेम्वाङले देउवा सर्वोच्चको प्रधानमन्त्री भएको टिप्पणी गरे।
सर्वोच्च अदालतको फैसलाले शक्ति सन्तुलन खलबलिएको भन्दै नेम्वाङले फैसलाप्रति आपत्ति जनाउनुभयो । यसरी नै अघि बढ्ने हो भने असहज अवस्था आउने नेम्वाङले चेतावनी दिए ।
नेम्वाङपछि बोलेका सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमानसिंहले नेम्वाङको कडा प्रतिवाद गरे । ओली असफल भएपछि देउवा प्रधानमन्त्री बनेको सिंहले बताए ।
ओलीले जनतासँग गरेको वाचा पूरा नगरेको, पार्टी नै मिलाउन नसकेको र ओलीको अहंकारका कारण असफल भएको सिंहले टिप्पणी गरे ।
सिंहले प्रधानमन्त्री देउवा संविधान अनुसार संसदबाटै आएको बताउँदै नेम्वाङको अभिव्यक्तिको आलोचना गरे ।