भारतमा कालो ढुसीको संक्रमणबाट चार हजार भन्दा बढीको मृत्यु
काठमाडौं । भारतमा म्यूकोर्माइकोसिस अर्थात ‘कालो ढुसी’ संक्रमणबाट भारतमा कम्तीमा चार हजार तीन सय जनाभन्दा बढीको मृत्यु भएको छ ।
कोरोना भाइरसका विरामीलाई संक्रमण गर्ने कालो ढुसीका ४५ हजार भन्दा धेरै विरामी फेला परेको भारतीय स्वास्थ्यमन्त्री मनसुख मांडवियाले जानकारी दिएका छन । उनका अनुसार दुर्लभ र घातक मानिने म्यूकोर्माइकोसिस सङ्क्रमण भएका ४५ हजार ३ सय ७४ बिरामी फेला परेका छन । संक्रमण भएकामध्ये झन्डै आधाको अझै उपचार जारी रहेको छ । सबैभन्दा बढी प्रभाव महाराष्ट्र र गुजरात राज्यमा देखिएको छ । त्यहाँ म्यूकोर्माइकोसिसबाट १ हजार ७ सय ८५ जनाको मृत्यु भएको छ ।
चिकित्सकहरूका अनुसार धेरै बिरामीहरूको अस्पताल पुग्नुअघि नै मृत्यु भएको बताइएको छ । सामान्यतया म्यूकोर्माइकोसिस भएको केही हप्तादेखि महिनापछि मृत्यु हुने गर्दछ । यो ढुसीले नाक र आँखामा प्रभाव पार्छ । सङ्क्रमण फैलिएर कहिलेकाहीँ मस्तिष्कसम्म पुग्ने ढुसी प्रायः कोरोना संक्रमण निको भएको १२ देखि १८ दिनमा देखापर्ने गरेको छ । यसले मस्तिष्क र फोक्सोलाई असर गर्ने गरेको छ ।
मधुमेह, क्यान्सरका र एचआईभी एड्स भएका मानिसका लागि यो रोग प्राणघातक बन्ने चिकित्सकको भनाइ छ ।