रचनात्मक प्रतिपक्षको भूमिका खेल्छौं-ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले परमादेशको आदेशले बाहिरिएको बताउँदै अब रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताएका छन् ।
शुक्रबार नेकपा एमाले स्थायी कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, हामी परमादेशबाट बाहिरियौं, अब रचनात्मक प्रतिपक्षको भूमिका खेल्छौं। हामीमाथि अन्याय भयो तर अन्याय भए पनि फैसला कार्यान्वयन गर्छौं,रचनात्मक प्रतिपक्षको भूमिका खेल्छौं उनले भने ।
‘राजनीतिलाई गति दिन रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका हुनेछ,’ ओलीले भने, ‘हामी हाम्रा विचारहरू, हाम्रा आदर्श, हाम्रा उद्देश्य, हाम्रा नीति, कार्यक्रम लिएर जनताका बीचमा जानेछौं । नेपाली जनताको समर्थन व्यापक रूपमा प्राप्त गर्नेछौं ।’ जनताको समर्थनबाट बनेको सरकार सर्वोच्चको परमादेशका कारण ढलेको भन्दै ओलीले न्याय पाउने ठाउँबाट अन्याय भएको बताए ।