सोमबार, असोज १५, २०८०

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पले ट्विटर, गुगल र फेसबुकविरुद्ध ‘सेन्सरशीप’ गरेको भन्दै मुद्दा हाले

फ्ल्यासन्युज नेपाल२०७८ असार २४ गते १६:३६

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आफू सेन्सरशीपबाट पीडित भएको दाबी गर्दै प्रविधिसम्बन्धी कम्पनीहरू गुगल, ट्विटर र फेसबुकविरुद्ध मुद्दा दायर गरेका छन्।

मुद्दामा ती कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई पनि विपक्षी बनाइएको छ।

उनका समर्थकहरूको नेतृत्वमा अमेरिकी संसद्‌ द क्यापिटलमा दङ्गा भएपछि सुरक्षा चासोलाई ध्यानमा राख्दै उनका सामाजिक सञ्जाल खाताहरू निलम्बित गरिएको थियो।

बुधवार ट्रम्पले मुद्दा हाल्नु आफ्नो कदमलाई ‘अभिव्यक्ति स्वतन्त्रताका लागि असाध्यै राम्रो कदम’ भनेका छन्।

बेडमिन्स्टरस्थित गल्फ रिसोर्टबाट प्रेस सम्मेलनमा बोल्दै ट्रम्पले गलत सूचना प्रवाह गरेको भन्दै सामाजिक सञ्जाल कम्पनीहरू र डेमोक्र्याटहरूको आलोचना गरे।

 

उनले भने, “हामीहरू नक्कली प्रतिबन्ध, चुप लगाउनेहरूलाई रोक्ने र कालो सूचीमा राख्ने र गालीगलौज गर्ने कामको अन्त्य होस् भन्ने चाहन्छौँ, तपाईँहरूलाई त्यो सबै राम्ररी थाहा छ।”

मुद्दामा आरोपित सेन्सरशीप रोक्न अदालतको आदेश माग गरिएको छ।

ट्रम्पले “यदि उनीहरूले राष्ट्रपतिलाई प्रतिबन्ध लगाउन सक्छन् भने जोसुकैलाई त्यसो गर्न सक्छन्” भनेका छन्।

फ्लोरिडास्थित सङ्घीय अदालतमा दायर गरिएको मुद्दाप्रति लक्षित कुनै पनि प्रविधि कम्पनीहरूले प्रतिक्रिया दिएका छैनन्।

प्रेस सम्मेलनमा ट्रम्पसँग उनका पूर्वअधिकारीहरू थिए जसले गैरनाफामूलक अमेरिका फर्स्ट पलिसी इन्स्टिच्यूट खोलेका छन्।

 

बुधवार नै ट्रम्पका रिपब्लिकन सहयोगीहरूले कङ्ग्रेसमा ‘ठूला कम्पनीमाथि कारबाही गर्ने’ भन्ने नोट सार्वजनिक गरेका छन्।

ट्रम्पले हालेको मुद्दाको कानुनी विज्ञहरूले आलोचना गरेका छन्। बिबिसी

तपाइँको प्रतिक्रिया