स्पेनलाई हराउँदै इटाली युरोकप फुटबलको फाइनलमा
काठमाडौ. । तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो ।
अब इटालीले उपाधिका लागि इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । वेम्बलीमा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १/१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टी सुटआउटमा इटालीले बाजी मार्यो । पेनाल्टीमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे । स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे । पेनाल्टीमा खेल जानु अघि दुबै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए ।
खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।
खेलको ८० औं मिनेटमा परिवर्तित खेलाडी अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा फर्काए । यस जितसँगै इटाली ३३ खेलमा अपराजित रहन सफल भएको छ ।