मनसुनजन्य बिपतबाट घरवार बिहीन भएकाहरूलाइ ५० हजार उपलब्ध गराउने
काठमाडौं । सरकारले यस वर्ष मनसुन सुरू भए यता प्राकृतिक बिपतबाट ३९ जनाको मृत्यु भएको जनाएको छ । राष्ट्रियसभाको आइतबार बसेको बैठकमा प्राकृतिक विपदमा परेकाहरुको उद्दार तथा राहतबारे जानकारी दिदैं गृहमन्त्री बिष्णु पौडेलले देशका विभिन्न जिल्लाहरूमा मनसुनजन्य विपद्का २२६ घटना भएको र बिभिन्न २२ जिल्लामा ३९ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।
त्यस्तै ३१ जना बेपत्ता र ४६ जना घाइते भएको बताए । मन्त्री पौडेलले मनसुनजन्य विपद्बाट घरवार बिहीन भएकाहरूको निजी आवासको पुनर्निर्माणका लागि घर पुनर्निर्माण गर्न अनुदान उपलब्ध गराउने जानकारी दिए । अस्थायी बसोबासको व्यवस्थाका लागि प्रति परिवार रु। ५० हजारको दरले जिल्ला प्रशासन कार्यालयहरूबाट प्रभावित परिवारहरूलाई उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको बताए ।
यस्तै बैठकमा राष्ट्रिय समावेशी आयोगको दोश्रो वार्षिक प्रतिवेदन र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका तर्फबाट दोश्रो वार्षिक प्रतिवेदन पेश भएको छ । राष्ट्रियसभाको अर्को बैठक असार २१ गते सोमबार १ बजे बोलाइएको छ ।