नारायणगढ–मुग्लिन सडकमा पुन: पहिरो
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको भोर्ले नजिक सेती दोभानमा खसेको पहिरोका कारण आइतबार पनि बाटो बन्द भएको छ । सो ठाउँमा शुक्रबार साँझ नै ठूलो पहिरो गएको थियो ।
शुक्रबार नै पहिरो खसेपनि चितवनको भरतपुरस्थित सडक डिभिजन कार्यालयले शनिबार दिनभरमा पनि बाटोमा खसेको पहिरो हटाउन सकेको थिएन् । सोही ठाउँमा फेरि पहिरो खसेर बाटो अवरुद्ध भएको चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्य थापाले बताउनुभयो ।
डीएसपी थापाले भन्नुभयो, ‘पहिरो आएर गाडी थुनिएको छ । म घटनास्थल तिर जाँदैछु । के कत्रो पहिरो झरेको हो यकिन हुन सकेको छैन ।’ नारायणगढ–मुग्लिन सडकखण्डमा बिहीबार बिहानैदेखि ठाउँ ठाउँमा पहिरो आएर बाटो अवरुद्ध हुँदै आएको छ ।
आज सो सडकखण्डको अन्य स्थानमा भने पहिरो नखसेको डीएसपी थापाले बताउनुभयो । राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम क्षेत्रसँग जोड्ने सो मार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नु परेको छ ।