खोप अभावमा वैदेशिक रोजगारी गुम्ने चिन्ता
नेपाली युवाको प्रमुख श्रम गन्तव्यमध्येको मुलुक साउदी अरेबियाले आप्रवासी श्रमिकलाई खोपविना काम नलगाउन भनेको छ । उसले रोजगारदाता कम्पनीलाई आफ्नै खर्चमा खोप लगाउने व्यवस्था मिलाउन भनेको व्यहोरासहितको पत्र बुधबार पररष्ट्र मन्त्रालयबाट वैदेशिक रोजगार विभागमा आयो ।
यो पत्रले नयाँ तरंग ल्याएको छ । रोजगारदाता कम्पनीले नेपालमै खोप लगाइदिने हो वा साउदी अरेबिया पुगेपछि भन्ने स्पष्ट भएको छैन । तर यसले रोजगारदाताले नेपाली श्रमिकको साटो खोप लगाएका देशका श्रमिकलाई प्राथमिकता दिने र व्यवसाय थप चौपट हुने त्रास म्यानपावर व्यवसायीमा छ । कुवेत सरकारले पनि खोप लगाएका श्रमिकलाई मात्र काममा लगाउन भनेको छ । यस्तै अन्य खाडी मुलुकका कम्पनीले पनि खोपविना काम दिन नसकिने बताउन थालेका छन् । तर विदेश जाने श्रमिकलाई अहिले खोप व्यवस्थापन गर्न सक्ने अवस्थामा सरकार छैन ।
कोभिडको असरले यो आर्थिक वर्ष उसैपनि श्रमिकको माग निकै घटेको छ । जेठसम्म जम्मा १ लाख ४० हजार श्रमिकको माग आएको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८ प्रतिशत कम हो । खोप लगाउनुपर्ने सर्तले व्यवसायीले माग अनुसार श्रमिक पठाउन सकेका छैनन् । अर्कातिर निषेधाज्ञामा एक महिनासम्म नियमित उडान ठप्प हुादा पनि वैदेशिक रोजगार प्रभावित भयो । नेपाली युवाको मुख्य गन्तव्यमध्येकै संयुक्त अरब इमिरेट्सले त कोभिडका कारण आप्रवासी श्रमिक नै लिएको छैन । यसको असर आगामी दिनमा विप्रेषणमा पर्ने देखिन्छ । रोजगारदाताका सर्तपछि व्यवसायीले वैदेशिक रोजगारीमा जाने युवालाई खोप आफैं लगाइदिन तयार रहेको बताएका छन् । तर श्रम मन्त्रालयले पत्याएको छैन ।
अहिलेसम्म वैदेशिक रोजगारीमा रहेका युवाले पठाएको विप्रेषणबाटै मुलुकको अर्थतन्त्र चलिरहेको छ । तर कोभिडका कारण एक वर्षमै पााच लाखभन्दा बढी श्रमिक स्वदेश फर्किसकेका छन् । यो अवधिमा जानेको संख्या भने निकै न्युन छ । खोपका कारण श्रमिक पठाउन नसक्ने हो भने अर्थतन्त्रमै असर पर्ने पक्का छ ।