देउवाले बोलाए कांग्रेस पदाधीकारीको बैठक
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापतिले कांग्रेस पदाधीकारीको बैठक बोलाएका छन् । आसन्न १४ औं महाधिवेशनको तयारीबारे छलफल गर्न सभापति देउवाले पदाधीकारीको बैठक आव्हान गरेका हुन् ।
बैठक आज दिउसो २ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। “महाधिवेशन तयारीसँगै क्रियाशील सदस्यता विवादबारे छलफल गर्न बैठक बोलाइएको हो,” पौडेलले भने।
कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा क्रियाशील सदस्यताको विवाद टुङ्गिएको छैन। अहिलेसम्म कांग्रेस केन्द्रीय कार्यालयले बनाएको सफ्टवेयरमा आठ सदस्यको ‘इन्ट्री’ भएको छ। जसमाथि पाँच हजार उजुरी परेको छ।
केन्द्रीय सदस्यताको विवाद टुङ्गयाउन केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा छानविन समिति गठन गरिएको छ। समितिले काम गरिरहेको भए पनि त्यसमा उठेका केही विषयमा पदाधिकारी बैठकमा छलफल हुने कांग्रेस मुख्यसचिव पौडेलले बताए।
कांग्रेसको १४औं महाधिवेशन १६–१९ भदौमा काठमाडौंमा हुन लागेको छ। त्यसअघि वडादेखि प्रदेश अधिवेशन तय गरिएको छ। १२ साउनबाट वडा अधिवेशन हुँदै छ। त्यसका लागि क्रियाशील सदस्यताको विवाद टुङ्गयाउन लागिएको हो।
यससँगै पदाधिकारी बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल हुने मुख्यसचिव पौडेलले जनाएका छन्।