पहिरोले डोजर पुरिँदा धादिङमा दुई जना बेपत्ता
धादिङ । अविरल वर्षासँगै गएको पहिरोले डोजर पुरिँदा उत्तरी धादिङको सेर्तुङमा दुई जना बेपत्ता भएका छन् । अविरल वर्षासँगै शुक्रबार साँझ ६ बजे रुवीभ्यालि गाउँपालिकास्थित् सेर्तुङमा सडक खन्ने क्रममा पहिरो जाँदा डोजरसहित २ जना बेपत्ता भएका हुन् ।
धादिङबेसी – तिप्लिङ सडकअन्तर्गत आदा खोलामा पहिरोले डोजर पुर्दा एक स्थानीय युवा र डोजर चालक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बेपत्ता दुवैको खोजी भइरहेको जानकारी दिएका छन् ।
प्रहरी उपरीक्षक खड्काका अनुसार बेपत्ता हुनेमा डोजर चालक सिन्धुपाल्चोक जिल्लाका २३ वर्षीय राजु पराजुली र सहचालक रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ लापाका २० वर्षीय जोजो तामाङ रहेका छन् ।
डोजर खोलामा माटोले पुरिएको अवस्थामा केही भाग देखिएकाले त्यसतर्फ जाने तयारी भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।