मंगलबार, असोज १६, २०८०

गिट्टी, बालुवा निकासीविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

फ्ल्यासन्युज नेपाल२०७८ असार ४ गते १४:०१

काठमाडौं । गिट्टी बालुवा निकासीको निर्णय विरुद्ध परेका रिटमा आज सर्वोच्च अदालत संवैधानिक इजालसमा सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा र विश्वम्भर श्रेष्ठ रहेका छन ।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट बक्तव्यको बुँदा नम्बर १९९ मा गिट्टी बालुवा निकासी गर्ने उल्लेख छ । यो व्यवस्था उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गर्दै सर्वोच्चमा ७ वटा रिट परेका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु शैलेन्द्र प्रसाद अम्वेडर, रामबहादुर शाही, पुण्यप्रसाद खतिवडा, हरिराम वलजु, अतिस कार्की र विक्रम नगरकोटीले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

रिटमा बजेटको बुँदा नम्बर १९९ कार्यन्वयन नगर्नुरनगराउनु भनी अन्तरिम आदेशको माग गरिएको छ । चुरे क्षेत्रको वातावरण संरक्षणका साथै त्यस क्षेत्रको जैविक विविधता, प्राकृतिक सम्पदा, जल भण्डारण इत्यादिको संरक्षणका लागि दीर्घकालीन बृहत कार्ययोजनाका लागि सरकारलाई आदेश दिन माग गरिएको छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले पेश गरेको रिटमा भविष्यमा चुरेक्षेत्रमा हुने चोरी निकासी एवं गैरकानूनी ढंगले अनियन्त्रित दोहनलाई रोक्न प्रभावकारी उपाय अवलम्वन गर्न अधिकार सम्पन्न संयन्त्र वा प्राधिकरण गठन गर्न समेत आदेशको माग गरेका छन्।

तपाइँको प्रतिक्रिया