शनिबार, असोज १३, २०८०

पार्टी एकता गर्न अन्तिमसम्म लागिरहनेछौं- गोकर्ण विष्ट

फ्ल्यासन्युज नेपाल२०७८ जेठ २० गते १२:००

काठमाडौं । नेकपा एमाले नेता गोकर्ण विष्टले पार्टी एकता गर्न अन्तिमसम्म लागिरहने बताएका छन् । बिहीबार फेसबुकमार्फत उनले नेकपा एमालेको एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले आफ्नो नाम समेत जोडेर केही सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएको भन्दै आपत्ति जनाएका छन् ।

विष्टले एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन् रु समयले नै बताउने प्रतिक्रिया दिएका छन् । पार्टी पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास भएकाले एकता गर्न निरन्तर प्रयत्नशील रहेको धारणा राखेका छन् ।

‘पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो ।’ विष्टले भनेका छन्, ‘हामी यसमा निरन्तर प्रयत्नशील छौँ । अन्तिमसम्म लागिरहनेछौँ । पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । हाम्रो अडान हो । ’

समानान्तर गतिविधि गरिरहेको माधवकुमार नेपाल पक्षमा दुई धार देखिएको छ । दोस्रो तहका नेता एमालेमै बसेर अन्तरसंघर्ष गर्नुपर्ने पक्षमा छन् । पुराना तथा तेस्रो, चौथो पुस्ताका नेता समूह छुटै पार्टी गठन गर्नुपर्ने पक्षमा देखिएका छन् । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायत नेताले पार्टी एकतामा जोड दिएका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता र उनीहरुबीच छलफल भइरहेको छ । उनीहरूले सुवास नेम्बाङ, विष्णु पौडेल र प्रदीप ज्ञवालीसँग सघन छलफल चलाइरहेका हुन् । माधव नेपाल पक्ष बिहीबार आफू निकट केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । पार्टी एकताकै लागि भनेर एमाले स्थायी कमिटी बैठक बुधबार पनि सरेको छ ।

माधव पक्षले बैठक बोलाएपछि सत्तारूढ नेकपा (एमाले) का केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ्गले बिहीबार एक वक्तव्य जारी गर्दै पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुन आग्रह गरेका छन्। तामाङले पार्टी केन्द्रीय कमिटीका सदस्यलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता क्रियाकलापमा सहभागी नहुन आह्वान गरेका हुन्।

तपाइँको प्रतिक्रिया