शुक्रबार, जेठ २६, २०८०

संसद विघटनविरुद्ध रिट हाल्न विपक्षी गठबन्धन सर्वोच्च अदालत जाँदै

फ्ल्यासन्युज नेपाल२०७८ जेठ ९ गते १०:०३

काठमाडौ । संसद विघटनविरुद्ध रिट हाल्न विपक्षी गठबन्धनका नेताहरु आज सर्वोच्च अदालत जाने तयारी गरेका छन् । त्यसको तयारीका लागि दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् ।

आज तयारी सकिए आजै, नभए भोलि सर्वोच्च जाने उनीहरुको तयारी छ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने तयारी भइरहेको बताए । नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले पनि सकेसम्म आजै सर्वोच्च अदालत जाने तयारीमा आफूहरु रहेको बताइन् ।

शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दूर्गा पौडेलको संयुक्त बैठकले संसद विघटनको कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको थियो । विपक्षी गठबन्धनका बहुमत सांसदहरुको समर्थन रहेको दाबीसहित कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका थिए ।तर दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते नयाँ निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।

तपाइँको प्रतिक्रिया