संविधानको रक्षाका लागि सबै विकल्पमा छलफल गर्ने कांग्रेसको निर्णय
काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रपतिले नेपालको संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि गर्नुभएको आहवान सम्बन्धमा सबै विकल्पमा छलफल गर्ने निर्णय गरेको छ ।
पार्टीका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शुक्रबार बिहान बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको संयुक्त बैठकले विभिन्न विकल्पमा अन्य दलसँग छलफल गर्ने निर्णय गरेको हो । ‘संविधानको रक्षा मूल उद्देश्यसहित कुन बाटो अख्तियार गर्नुपर्छ, अन्य दलसँग सबै विकल्पमा छलफल गर्छौं,’ बैठकपछि सहमहामन्त्री प्रकाशशरण महतले बताए ।
महतले वैकल्पिक सरकारको नेतृत्वसहित सबै विकल्पमा छलफल हुने जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नेपालको संविधानको धारा ७६९५० बमोजिम नयाँ सरकार गर्ने प्रयोजनका लागि विज्ञप्ती जारी गर्नुभएपछि नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको हो ।
राष्ट्रपतिले आज वेलुकी ५ बजेसम्मका लागि नयाँ सरकार गठनको समयावधि दिएकी छन् ।