गनगन गरेर नबसौं-गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले राजनीतिक दलहरूले नयाँ सरकार गठन गरेर प्रधानमन्त्री केपी शर्मा ओली र महाभियोग लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाइ गर्नुपर्ने बताएका छन् ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको ‘अनुरोध’मा भन्दै संविधानको धारा ७६ को उपधारा ५ अनुसारको सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई प्रधानमन्त्री पदमा दाबी गर्नका लागि शुक्रबार साँझ ५ बजेसम्मको समय दिएपछि सांसद थापाको यस्तो प्रतिक्रिया आएको हो । बिहीबार साँझ थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत उक्त विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्रीले जानाजान पछिल्ला गतिविधि गरिरहेको र यसबाट प्रतिपक्षमा रहेका दलहरूले समयमै सुझबुझ पुर्याउनुपर्ने थापाको आग्रह छ । ‘विश्वासको मत लिन मन नलागे प्रधानमन्त्रीले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रक्रिया सुरु गर्ने हो । नेतागण, के राष्ट्रपति र प्रधानमन्त्रीले थाहा नपाएर यो गरेको हो रु जानेर गरेको हो,’ थापाको भनाइ छ, ‘गनगन गरेर नबसौं ।
सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौं ।’