रहस्यमय दासढुंगा जीप दुर्घटनाको यर्थाथ पत्ता लगाउन नेता नेपालको आग्रह
काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।
एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवसको अवसरमा नेता नेपालले एक विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । २०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा मदन–आश्रित मारिएका थिए । उनीहरुको योगदानको स्मरण गर्दै नेता नेपालले जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनाको यर्थाथ पत्ता लगाउन आग्रह गरेका हुन् ।
नेकपा एमालेको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप पार्टी र सरकारलाई अघि बढाउन सके मात्रै मदन–आश्रितले देखेका सपना साकार हुने नेपालको भनाइ छ । दासढुंगा काण्डलाई ‘रहस्यमय’ भन्ने गरिन्छ । सो घटनायता पटक–पटक सरकारमा पुग्दा पनि सत्यतथ्य पत्ता लगाउन नसकेको भन्दै एमालेको आलोचना हुने गरेको छ ।